काठमाडौं ।
अर्बपति इलन मस्क नेतृत्वको एक समूहले सोमबार ओपनएआई नियन्त्रण गर्ने गैरनाफामूलक संस्थालाई किन्ने प्रस्तावस्वरूप ९७.४ अर्ब डलर दिने घोषणा गरेको छ। यो कदम उक्त कृत्रिम बुद्धिमता (एआई) स्टार्टअपलाई नाफामूलक कम्पनीमा रूपान्तरण गर्न रोक्न खोज्ने मस्कको प्रयासको अर्को चरण हो।
रोयटर्सका अनुसार, मस्कको यो प्रस्तावले ओपनएआईका सीईओ साम अल्टम्यानसँगको तनाव अझ बढाउने सम्भावना छ। अल्टम्यानले सोमबार एक्समा पोस्ट गर्दै लेखे, “धन्यवाद, तर चाहनुहुन्छ भने हामी ९.७४ अर्बमा ट्विटर किन्छौं।”
मस्कले २०१५ मा अल्टम्यानसँगै ओपनएआईको स्थापना गरेका थिए। तर कम्पनीले उचाई लिनेबेलामा मस्क त्यहाँबाट बाहिरिएका थिए। उनले २०२३ मा प्रतिस्पर्धी एआई स्टार्टअप एक्सएआई को स्थापना गरेका थिए।
टेस्लाका सीईओ र प्राविधिक तथा सामाजिक सञ्जाल कम्पनी एक्सका मालिक मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी हुन्। उनले ट्रम्पलाई चुनाव जिताउन २५० करोड डलरभन्दा बढी खर्च गरेका थिए। मस्कले ह्वाइट हाउसको नयाँ शाखा, ‘सरकारी दक्षता विभाग’, को नेतृत्व गर्छन्, जसको उद्देश्य संघीय ब्यूरोक्रेसीलाई निकै घटाउने हो।
हालै मस्कले ट्रम्पले ह्वाइट हाउसमा घोषणा गरेको ५०० अर्ब डलरको ओपनएआई नेतृत्वको परियोजनाको आलोचना गरेका थिए। ओपनएआई अहिले गैरनाफामूलकबाट नाफामूलक संस्थामा रूपान्तरण हुन खोजिरहेको छ। कम्पनीले यसो गर्नुको कारण एआई मोडेल विकासका लागि आवश्यक पुँजी जुटाउन आवश्यक भएको बताएको छ।
मस्कले गत वर्ष अगस्टमा अल्टम्यान र अन्यविरुद्ध मुद्दा दायर गरेका थिए। उनले सार्वजनिक हितभन्दा नाफालाई प्राथमिकतामा राखेको भन्दै उनीहरूले सम्झौताका प्रावधान उल्लङ्घन गरेको आरोप लगाएका थिए। नोभेम्बरमा मस्कले अमेरिकी जिल्ला न्यायाधीशसँग ओपनएआईलाई नाफामूलक संरचनामा रूपान्तरण हुनबाट रोक्न अन्तरिम आदेशको माग गरेका थिए।
मस्कको मुद्दामा भनिएको छ कि ओपनएआईका संस्थापकहरूले सुरुमा मानवताको हितका लागि एआई विकास गर्ने गैरनाफामूलक संस्थाका लागि पुँजी जुटाउन आफूलाई सम्पर्क गरेका थिए। तर अहिले कम्पनी नाफा कमाउन केन्द्रित भएको आरोप लगाइएको रोयटर्सले उल्लेख गरेको छ।
“ओपनएआईले पहिलेको जस्तो सुरक्षामा ध्यान दिने र खुला स्रोतमा आधारित जनहितकारी संस्था बन्ने बेला आएको छ,” मस्कले सोमबार जारी गरेको वक्तव्यमा भनेका छन्। “हामी यो सुनिश्चित गर्नेछौं।”
अल्टम्यानले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीको बोर्डले मस्कको “कथित प्रस्ताव” प्रति कुनै चासो नरहेको स्पष्ट पार्ने बताएका छन्। सोमबार द इन्फर्मेशन ले प्रकाशित गरेको रिपोर्टमा यस्तो उल्लेख छ। मस्क र ओपनएआईका लगानीकर्ता माइक्रोसफ्टले तत्काल प्रतिक्रिया दिएका छैनन्।
प्रकाशित: ३० माघ २०८१, बुधबार