
काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयकको विरोध गर्नेहरु अवाञ्छित तत्व भएको भन्दै विधेयक कुनै पनि हालतमा पास हुने बताएका छन्।
उनले विधेयकका विरुद्ध सामाजिक सञ्जालमार्फत भड्काउने काम गरिएको भन्दै विधेयक पास गरेरै छोड्ने बताए।
सुरक्षित इन्टरनेट दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री गुरुङले भने, ‘सरकारले हालै सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोगसम्बन्धी विधेयक सामाजिक मेलमिलापका लागि ल्याएकोमा अवाञ्छित तत्वहरुले यसको विरोध गर्ने, अरुलाई विरोध गर्न उक्साउने काम गरिरहेका छन्। विधेयकको विरोध गर्नेहरु अवाञ्छित र अप्रजातान्त्रिक शक्तिहरु लागिरहेको छ। विधेयक कुनै पनि हालतमा पारित हुन्छ।’
उनले सहअस्तित्व भएको मुलुक र सदभावयुक्त समाजलाई भत्काउने प्रयास यस क्षेत्रबाट भइरहेको जिकिर गरे। यी तत्वहरुले ‘हामीले फेसबुकमा ट्विटरमा केही पनि लेख्न नपाउने भयौं’ भन्दै इन्स्टाग्राम जमातहरुलाई भड्काइहेका र यो विधेयकको विरुद्धमा जनमत सिर्जना गर्न थालेका उनको भनाई छ।
विश्वभर जातीय युद्धहरु भएको उदाहरण दिँदै त्यसबाट बचाउने विधेयक ल्याएको सञ्चारमन्त्रीले बताए।
‘वाक स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता कसैलाई मानहानी वा गाली गलौज वा मनपरी भन्नलाई हो र? यसको पनि त मर्यादा होला। नक्कली कुराहरु गर्नलाई अधिकार दिने हो र?’, उनले प्रतिप्रश्न गरे।
साइबर अपराधका घटनाहरु अत्यधिक बढिरहेका तर्फ इंगित गर्दै मन्त्री गुरुङले यसलाई न्यूनीकरण गर्न आम नागरिकलाई इन्टरनेट प्रविधिमा आधारित सेवाहरुमा सुरक्षाको प्रत्याभूति गराउन पहलकदमी लिनु आजको आवश्यकता भएको बताए। यसका लागि सचेतना कार्यक्रमहरुको धेरै आवश्यकता देखिएको उनको भनाई थियो।
‘ज्ञानमा आधारित समाज निर्माण गर्न इन्टरनेट प्रविधिको पूर्वाधार विस्तार, पहुँच वृद्धि र अनलाइन सुरक्षा साक्षरताका कार्यक्रमहरुलाई व्यापक बनाउन व्यापक जरुरी छ,’ उनले थपे।
प्रकाशित: २९ माघ २०८१, मंगलवार