प्रविधिसँगै आएका चुनौती तथा जोखिमहरुलाई सँगसँगै सम्बोधन गर्नुपर्ने आजको आवश्यकता: सञ्चारमन्त्री गुरुङ

Technology Khabar २९ माघ २०८१, मंगलवार

प्रविधिसँगै आएका चुनौती तथा जोखिमहरुलाई सँगसँगै सम्बोधन गर्नुपर्ने आजको आवश्यकता: सञ्चारमन्त्री गुरुङ
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिको गतिसँगै आएका चुनौती तथा जोखिमहरुलाई सँगसँगै सम्बोधन गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा आज एक विज्ञप्ति प्रकाशित गरी विश्वव्यापी रुपमा हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार मनाइने सुरक्षित इन्टरनेट दिवस यस वर्ष “सुरक्षित इन्टरनेट, सधैंका लागि, सबैका लागि” भन्ने नाराका साथ नेपालमा मनाउन सम्पूर्ण सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित सरोकारवाला निकायहरु तथा आम उपभोक्ताहरुमा शुभकामना व्यक्त गर्ने क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन्।

‘सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकाससँगै यसको प्रयोगले विश्व एक गाउँको रुपमा रुपान्तरण गर्न इन्टरनेट प्रविधिले अग्रणी भूमिका निर्वाह गर्दै आएको अवस्थामा यसको समुचित प्रयोगले सबै उमेर समूहका व्यक्तिहरुको दैनिक कृयाकलाप सहज हुने मात्र होइन, देशको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा समेत प्रत्यक्ष सहयोग पुर्याउँछ। प्रविधिको गतिसँगै आएका चुनौती तथा जोखिमहरुलाई सँगसँगै सम्बोधन गर्नुपर्ने आजको आवश्यकता भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

अधिकांश जनसंख्या इन्टरनेट सेवामा जोडिँदै आएको अवस्थामा साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्न आम नागरिकलाई इन्टरनेट प्रविधिमा आधारित सेवाहरुमा सुरक्षाको प्रत्याभूति गराउन पहलकदमी लिनु आजको आवश्यकता भएको उनको भनाई छ।

यसबाहेक ज्ञानमा आधारित समाज निर्माण गर्न इन्टरनेट प्रविधिको पूर्वाधार विस्तार, पहुँच वृद्धि र अनलाइन सुरक्षा साक्षरताका कार्यक्रमहरुलाई व्यापक बनाउन आवश्यक रहेको बताइएको छ।

विशेषगरी बालबालिकाको सुरक्षा, व्यक्तिगत गोपनीयता, डिजिटल साक्षरता, र साइबर अपराधको वृद्धि जस्ता विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मन्त्रालयले सुरक्षित, मर्यादित र जिम्मेवार इन्टरनेट प्रयोगलाई प्रवर्द्धन गर्दै आइरहेको छ।

मन्त्री गुरुङका अनुसार यसका लागि केही नीतिगत व्यवस्था भैसकेका छन् भने केही हुने क्रममा छन्। निजी क्षेत्र तथा सरोकारवाला निकायहरुसँग सहकार्य गरी यस क्षेत्रलाई अझ बढी व्यवस्थित र सुरक्षित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रयत्नशील रहेको छ।

अनलाईन सुरक्षा हामी सबैको अपेक्षा बोध गरी इन्टरनेट प्रविधिमा आधारित सेवा उपभोग गर्ने सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि मैत्री सरोकारवालाहरुलाई अनलाइनमा उपलब्ध भएका तथा हुने सेवाहरुलाई सुरक्षित र मर्यादित बनाउन आह्वान गर्दछु। यस सुरक्षित इन्टरनेट दिवसले सम्पूर्ण इन्टरनेट उपभोक्ताहरुलाई अनलाइन सुरक्षा प्रति सजग बनाउन सफल होस् शुभकामना व्यक्त गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया