दक्षिण कोरियाको गुप्तचर निकाय भन्छ- डीपसिकले व्यक्तिगत डाटा अत्यधिक रूपमा सङ्कलन गर्छ

  • Technology Khabar | २९ माघ २०८१, मंगलवार

काठमाडौं ।

दक्षिण कोरियाको गुप्तचर निकायले चिनियाँ एआई एप ‘डीपसीक’लाई व्यक्तिगत डाटा अत्यधिक रूपमा सङ्कलन गर्ने र इनपुट डाटालाई आफ्नै प्रशिक्षणका लागि प्रयोग गर्ने आरोप लगाएको छ। साथै, यसले राष्ट्रिय गौरवसँग सम्बन्धित प्रश्नहरूको उत्तरलाई लिएर पनि प्रश्न उठाएको छ।

नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले गत साता सरकारी निकायहरूलाई सुरक्षा सतर्कता अपनाउन आधिकारिक सूचना पठाएको जानकारी दिएको छ।

“अन्य जेनरेटिभ एआई सेवाहरूभन्दा फरक रूपमा, यसमा प्रयोगकर्ताको कीबोर्ड इनपुट ढाँचा सङ्कलन गर्ने र volceapplog.com जस्तो चिनियाँ कम्पनीहरूको सर्भरसँग सञ्चार गर्ने क्षमता रहेको पुष्टि भएको छ,” एनआईएसले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

रोयटर्सका अनुसार केही सरकारी मन्त्रालयहरूले सुरक्षा चिन्ताको कारण यो एपमा पहुँच रोक लगाएका छन्। यस कदममा अस्ट्रेलिया र ताइवान पनि समावेश छन्, जसले डीपसीकमा चेतावनी दिएका वा सीमितता लगाएका छन्।

एनआईएसका अनुसार डीपसीकले विज्ञापनदाताहरूलाई प्रयोगकर्ताको डाटामा असीमित पहुँच दिन्छ र दक्षिण कोरियाली प्रयोगकर्ताहरूको डाटा चिनियाँ सर्भरमा भण्डारण गर्छ। चिनियाँ कानुनअनुसार, चिनियाँ सरकारले माग गरेमा यस्तो जानकारी प्राप्त गर्न सक्ने एनआईएसले बताएको छ।

एनआईएसले डीपसीकले संवेदनशील प्रश्नहरूमा फरक भाषामा फरक उत्तर दिएको पनि जनाएको छ। उदाहरणका लागि, किम्चीको उत्पत्तिसम्बन्धी प्रश्नमा कोरियाली भाषामा किम्ची दक्षिण कोरियाली परिकार भएको उत्तर दिएको छ। तर, चिनियाँ भाषामा सोही प्रश्नको उत्तरमा यसले किम्ची चीनबाट आएको बताएको थियो।

धेरै वर्षयता किम्चीको उत्पत्तिको विषयले दक्षिण कोरियाली र चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच विवाद उत्पन्न गराउँदै आएको छ।

डीपसीकले राजनीतिक प्रश्नहरूमा पनि जवाफहरू सेन्सर गरेको आरोप लागेको छ, जस्तै १९८९ को तियानआन्मेन स्क्वायर घटना। यस्तो विषयमा एपले विषय परिवर्तन गर्न सुझाउँदै “अरू केही कुरा गरौं” भन्ने उत्तर दिएको थियो।

डीपसीकले समाचारको बारेमा कुनै प्रतिक्रिया दिएको छैन। तर, दक्षिण कोरियाली सरकारको कदमबारे सोधिएकोमा, फेब्रुअरी ६ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले डाटा गोपनीयता र सुरक्षालाई उच्च महत्त्व दिने र कानुनअनुसार संरक्षण गर्ने बताए। उनले भने, “बेइजिङले कुनै पनि कम्पनी वा व्यक्तिलाई कानुनविपरीत डाटा सङ्कलन वा भण्डारण गर्न कहिल्यै आग्रह गर्दैन।”

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया