Technology Khabar २९ माघ २०८१, मंगलवार
काठमाडौं ।
सेन्ट जेभियर्स कलेजले बहुप्रतीक्षित ‘सेट’ प्रदर्शनी सफलतापूर्वक आयोजना गरेको छ। विद्यार्थीहरूको सिर्जनशीलता र शैक्षिक ज्ञानलाई सामाजिक उत्थान, वातावरणीय संरक्षण, र प्रविधि नवप्रवर्तनका क्षेत्रमा प्रयोग गरेर यी विषयहरुलाई एकसाथ सम्बोधन गर्ने उद्देश्यले यो विज्ञान प्रदर्शनी गरिएको आयोजकको भनाई छ।
विद्यार्थीहरूद्वारा सञ्चालित क्लब, सेन्ट जेभियर्सको सोसल सर्भिस, इनभाइरन्मेन्ट र टेक्नोलोजी सेट(एसईटी) काउन्सिलद्वारा आयोजित यो प्रदर्शनीलाई विद्यार्थीहरूको नवीन परियोजनाहरू प्रदर्शन गर्ने मञ्चको रूपमा लिइने कलेजका सञ्चार तथा ब्राण्डिङ विभाग प्रमुख मणिप्रसाद कर्माचार्यले जानकारी दिए।
कार्यक्रम दुई मुख्य वर्गहरूमा छुट्याइएको थियो अन्तर (Inter) र आन्तरिक (Intra)। आन्तरिक वर्गमा सामाजिक सेवा, वातावरण, र प्रविधि गरी तीन क्षेत्र समेटिएका थिए भने अन्तर वर्गमा उपत्यका भित्र र बाहिरका विद्यालय तथा कलेजका सहभागीहरूलाई समावेश गरिएको थियो।

प्रत्येक वर्गमा तीन विजेताहरू घोषित गरिए र ती विजेताहरुले प्रमाणपत्र, पदक, तथा नगद पुरस्कार प्राप्त गरे। कार्यक्रममा सहभागीहरूको उच्च प्रशंसा पाउने परियोजनालाई ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिएको थियो।
कार्यक्रमका मुख्य आकर्षणहरूमा पानीबाट चल्ने रकेट, रोबोटिक हात, एआई-प्रयुक्त सवारी साधनको मोडेल, र पहिरो सचेतना प्रणाली लागायत विविध प्रविधिहरु समावेश थिए।
विद्यार्थीहरूले सैद्धान्तिक अवधारणालाई व्यावहारिक प्रयोगहरूसँग जोड्दै वास्तविक समस्याहरूको समाधान प्रस्तुत गरे, जसले दर्शकलाई सोच्न बाध्य तुल्याएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, शिक्षा, विज्ञान, र प्रविधि मन्त्रालयका सहसचिव डा. राजेन्द्र प्रसाद भण्डारीले भने, “विद्यार्थीहरू राष्ट्र निर्माणका आधारस्तम्भ हुन्, र यस प्रदर्शनीले उनीहरूको नवप्रवर्तनलाई प्रस्तुत गर्न मञ्च प्रदान गर्छ, जसले पुरानो पुस्तालाई पनि प्रेरित गर्न सक्छ।”

सेन्ट जेभियर्स कलेज, माइतीघरका प्रिन्सिपल फादर डा. अगस्टिन थोमस, एस.जे. ले भने, “विद्यार्थीहरूले प्रत्येक वर्ष ल्याउने परिवर्तन अद्वितीय हुन्छ। प्रत्येक वर्ष सिर्जनशीलता, नवप्रवर्तन, र नयाँ दृष्टिकोणको झल्को पाइन्छ।”
यो प्रदर्शनीले युवा मनहरूमा नवप्रवर्तन र सामाजिक जिम्मेवारीको भावना जागृत गराउँदै उनीहरूलाई आफ्ना ज्ञान प्रयोग गरी उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरेको कर्माचार्यको भनाई छ।
साथै यो कार्यक्रमले शिक्षण संस्थाहरूले सूचना सम्पन्न र सक्रिय समाज निर्माणमा खेल्ने भूमिकाको महत्त्वबारे पनि स्मरण गराएको आयोजकको भनाई छ।
प्रकाशित: २९ माघ २०८१, मंगलवार