६० करोड डलरमा निर्मित विश्वकै सबैभन्दा तीव्र सुपर कम्प्युटर एल क्यापिटान औपचारिक रुपमा शुरु, यस्ता छन् विशेषता

Technology Khabar २९ माघ २०८१, मंगलवार

काठमाडौं ।

विश्वको सबैभन्दा तीव्र सुपरकम्प्युटर “एल क्यापिटान” क्यालिफोर्नियाको लरेन्स लिभरमोर नेशनल ल्याबोरेटरी (एलएनएनएल) मा औपचारिक रूपमा सुरू गरिएको छ।

एलएनएनएलका प्रतिनिधिहरूका अनुसार ६० करोड डलर लागतमा निर्माण गरिएको यो सुपरकम्प्युटरले विभिन्न संवेदनशील र गोप्य कार्यहरू सम्हाल्नेछ, जसमा भूमिगत परीक्षणको अभावमा अमेरिकी आणविक हतियारको सुरक्षाको सुनिश्चितता पनि समावेश छ। यस्तो परीक्षण १९९२ मा प्रतिबन्धित गरिएको थियो।

स्पेस डटकमका अनुसार यो सुपरकम्प्युटरले मुख्यत: राष्ट्रिय सुरक्षासम्बन्धी अनुसन्धानमा ध्यान केन्द्रित गर्नेछ। यसमा सामग्री खोज, उच्च-ऊर्जा घनत्व भौतिकी, आणविक डाटा र हतियार डिजाइन जस्ता कार्यहरू, साथै अन्य गोप्य कामहरू समावेश छन्।

एल क्यापिटानले गत वर्ष पूर्ण रूपमा सञ्चालनमा आएपछि हाई परफरमेन्स लिनप्याक (एचपीएल) बेन्चमार्कमा १.७४२ एक्साफ्लप्सको स्कोरका साथ विश्वको सबैभन्दा तीव्र कम्प्युटरको उपाधि हासिल गरेको थियो।

यो परीक्षण विश्वभर सुपरकम्प्युटिङको गति मापन गर्न प्रयोग गरिन्छ। यसले एल क्यापिटानलाई एक्सास्केल कम्प्युटिङ गतिको स्तरमा पुग्ने तेस्रो सुपरकम्प्युटर बनाएको छ। यसको शिखर प्रदर्शन क्षमता २.७४६ एक्साफ्लप्स छ।

प्रदर्शन फ्लोटिङ-पोइन्ट अपरेशन प्रति सेकेन्ड (एफएलओपीएस) मा मापन गरिन्छ, जसमा एक फ्लोटिङ-पोइन्ट अपरेशन एउटा गणितीय गणना हो। तुलनात्मक हिसाबले, उत्कृष्ट ल्यापटपहरूले प्राय: केही सय गिगाफ्लप्सको शक्ति दिन्छन्, जसको अर्थ १ ट्रिलियन (१०^९) फ्लप्स। तर, एक एक्साफ्लप्स भनेको १ क्विन्टिलियन (१०^१८) फ्लप्स हो।

हालको दोस्रो तीव्र सुपरकम्प्युटर ओक रिज नेशनल ल्याबोरेटरी, इलिनोइसको “फ्रन्टियर” सुपरकम्प्युटर हो, जसले १.३५३ एक्साफ्लप्सको मानक प्रदर्शन र २.०५६ एक्साफ्लप्सको शिखर प्रदर्शन क्षमता प्राप्त गरेको छ।

एल क्यापिटान ४४,५४४ AMD MI300A एक्सेलरेटेड प्रोसेसिङ युनिटहरूमा आधारित छ, जसमा ११ मिलियनभन्दा बढी प्रोसेसिङ र ग्राफिक्स कोरहरू छन्। यसमा AMD EPYC Genoa सीपीयू, AMD CDNA3 ग्राफिक्स कार्ड, र कम्प्युटिङ मेमोरी संयोजन गरिएको छ। प्रत्येक युनिटले १२८ गिगाबाइटको उच्च-ब्यान्डविड्थ मेमोरी प्रयोग गर्दछ, जसले उच्च गतिको साथ कम ऊर्जा खपत गर्दछ।

एल क्यापिटान अमेरिकी ऊर्जा विभागको CORAL-2 कार्यक्रमअन्तर्गत २०१८ मा तैनाथ गरिएको सिएरा सुपरकम्प्युटरलाई प्रतिस्थापन गर्न कमिसन गरिएको हो। सिएरा सुपरकम्प्युटर अझै प्रयोगमा छ र पछिल्लो टप५०० श्रेणीकरणमा विश्वको १४औं शक्तिशाली सुपरकम्प्युटरको सूचीमा रहेको स्पेसएक्सले उल्लेख गरेको छ।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया