Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको एउटा अनलाइन जुवा अखडामा छापा मारेर २३ जनालाई पक्राऊ गरेको छ।
आइतबार राति उक्त स्थानमा रहेको दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा २३ जना भारतीय नागरिकहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राऊ परेका २३ जनाबाट ८८ ओटा मोबाइल र १० ओटा ल्यापटप समेत बरामद गरिएको र उक्त परिमाणका डिभाइसबाट के कति रकम बराबरको कारोबार भएको छ भन्नेबारे प्रहरीले अध्ययन गरिहेको छ।
तर हालसम्मको प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाई छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त अनलाइन जुवा सञ्चालकले ती जुवा खेलाउने व्यक्तिहरुलाई उक्त घरमा खाने/बस्ने सुविधा सहित राखेको पाइएको प्रहरीले जनाएको छ।
केही समययता अनलाईन जुवा तथा बेटिङका घटनामा भारतीय नागरिकहरु बाक्लै रुपमा संलग्न हुँदै आएको पाइएको छ। केही समयअघि नेपाल प्रिमियर लिगका बेला प्रहरीले कीर्तिपुरको खेल मैदानबाटै र पछि दुई पटक बाहिरबाट उल्लेख्य सङ्ख्यामा भारतीय नागरिकसहित नेपालीहरुलाई पक्राऊ गरेको थियो।
प्रकाशित: २८ माघ २०८१, सोमबार