पौष महिनामा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार १३ करोड रुपैयाँले बढ्यो

Technology Khabar २८ माघ २०८१, सोमबार

काठमाडौं ।

पौष महिना नेपालमा कार्डमार्फत भुक्तानी हुने ई-कमर्सको कारोबार रकम बढेको र सङ्ख्या घटेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पौषसम्मको बृहत् आर्थिक विवरण अनुसार ई-कमर्समार्फत हुने कारोबारको रकम अघिल्लो महिनाको तुलनामा बढेको तथा सङ्ख्या घटेको पाइएको हो।

कारोबार सङ्ख्या

विवरण अनुसार असोजमा १ लाख ५१ हजार ९४१ रहेको कारोबार कार्तिकमा आउँदा ७ हजार १२९ बढेर १ लाख ५९ हजार ७० मा पुगेको थियो ।

कार्तिकबाट मंसिरमा जाँदा पनि १८ हजार ८४२ बढेर १ लाख ७७ हजार ९१२ पुगेको थियो। तर मंसिरबाट पौषमा पुग्दा भने १० हजार ५७९ घटेर १ लाख ६७ हजार ३३३ मा झरेको छ।

कारोबार रकम

सामान्यतया: कारोबार सङ्ख्या र रकममा एकैखाले परिवर्तन आउने गर्छ। यसको मतलब सङ्ख्या बढ्दा रकम पनि बढ्ने र घट्दा घट्ने हो। त। ईकमर्समार्फत् खरिद गरिने सामानको मूल्य बराबर नहुने हुँदा बेलाबखत यो अनुपात उल्टो हुने पनि पाइएको छ।

गत असोजमा ई-कमर्समार्फत् कारोबार भएको रकम ५८ करोड ४० लाख रुपैयाँ थियो। कार्तिक मसान्तमा आउँदा कारोबार सङ्ख्या बढेसँगै रकम पनि ४ करोड ८० लाख बढेर ९० करोड १० लाख रुपैयाँ पुग्यो।

यसैगरी कार्तिकबाट मंसिर मसान्तसम्म आउँदा पनि कारोबार रकममा २१ करोड ५० लाख बढेर १ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुग्यो। यो रकम बढ्ने क्रम मंसिरबाट पौषमा पुग्दा पनि जारी रह्यो।

यो एक महिनाको अवधिमा कारोबार सङ्ख्या घटे पनि कारोबार रकम १३ करोड बढेर १ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

प्रकाशित: २८ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया