वीरगञ्जमा खुल्यो शशीला मोटर्सको विद्युतीय सवारी साधन बिक्री केन्द्र

Technology Khabar २८ माघ २०८१, सोमबार

काठमाडौं ।

शशीला मोटर्स प्रालिले वीरगञ्जमा आफ्नो नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।

उद्घाटन समारोहमा अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।

उनले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले सधैं गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले बिक्री मात्र नभई बिक्री पछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे।

कम्पनीले वीरगञ्ज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।

कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ।

शशीला मोटर्सले हाइगर, किटोन, भेन्ची लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको बिक्री गर्दै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया