अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताले टिकटकको वेबसाइटमा उपलब्ध प्याकेज किटमार्फत् एप डाउनलोड गर्न सक्ने

  • Technology Khabar | २८ माघ २०८१, सोमबार
अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताले टिकटकको वेबसाइटमा उपलब्ध प्याकेज किटमार्फत् एप डाउनलोड गर्न सक्ने

काठमाडौं ।

टिकटकले शुक्रबार अमेरिकी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो वेबसाइटमा उपलब्ध प्याकेज किटमार्फत छोटो भिडियो एप डाउनलोड गर्न र जोइन गर्न अनुमति दिएको जनाएको छ। यो देशमा प्लेटफर्ममाथि लगाइएको प्रतिबन्धलाई छल्न गरिएको प्रयास हो।

एप्पल र गुगलले जनवरी १९ मा अमेरिकी कानुन लागू भएयता टिकटकलाई आफ्ना एप स्टोरहरूमा पुन: उपलब्ध गराएका छैनन्। सो कानुनले चिनियाँ स्वामित्व रहेको बाइटडान्सलाई राष्ट्रिय सुरक्षाका आधारमा टिकटक बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य बनाएको थियो।

रोयटर्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले, जसले कानुन लागू भएको भोलिपल्ट पदभार ग्रहण गरेका थिए, कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कानुनको कार्यान्वयन ७५ दिनसम्म ढिला गर्न निर्देशन दिएका छन्।

ट्रम्पले टिकटक खरिदबारे विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेको बताएका छन् र एपको भविष्यबारे यो महिनामा निर्णय आउने सम्भावना रहेको जनाएका छन्। टिकटकका झण्डै १७ करोड अमेरिकी प्रयोगकर्ता छन्।

राष्ट्रपतिले सोमबार अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै एक वर्षभित्र सार्वभौम सम्पत्ति कोष स्थापना गर्न निर्देशन दिएका छन्। उनले यो कोषले टिकटक किन्न सक्ने सम्भावना रहेको बताएका रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २८ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...