नेपालमा एआई प्रवर्द्धन गर्न ‘एआई एसोसिएसन नेपाल’को स्थापना, एआई नीति बारे सरोकारवालासँग छलफल

Technology Khabar २७ माघ २०८१, आईतवार

काठमाडौं ।

नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रवर्द्धन गर्न ‘एआई एसोसिएसन नेपाल’ गठन गरिएको छ।

एआई विज्ञ, उद्यमी तथा अनुसन्धानकर्ताहरूको संयुक्त पहलमा स्थापना भएको एसोसिएसनको अध्यक्षमा मेरो जबका संस्थापक शैलेन्द्र राज गिरि चयन भएका छन्।

एसोसिएसनले नेपालका विविध चुनौतीहरूको समाधान गर्न एआई अनुसन्धान, नवप्रवर्तन, र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि, र सार्वजनिक सेवाजस्ता क्षेत्रमा एआईको प्रभावकारी प्रयोगमार्फत नवीन समाधानहरू खोज्ने एसोसिएसनको उद्देश्य रहेको छ।

नेपाल सरकारले हालै जारी गरेको एआई नीतिका सन्दर्भमा सरोकारवालाहरूसँग परामर्श गर्न काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष गिरिले एआई एसोसिएसन नेपालको लक्ष्य र योजनाबारे जानकारी दिए।

उनले एआई शिक्षा र उद्योगसँग सम्बन्धित परियोजनाहरूलाई सहयोग पुर्‍याउने, अनुसन्धान तथा विकासलाई प्रवर्द्धन गर्ने, साथै प्रशिक्षण, कार्यशाला, र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्ने योजना एसोसिएसनले अघि सारेको बताए।

त्यसैगरी एसोसिएसनका महासचिव अधिवक्ता सन्तोष सिग्देलले नेपाल सरकारद्वारा प्रस्तुत गरिएको एआई नीतिको मस्यौदाको विश्लेषण गर्दै, प्रस्तावित नीतिले नैतिक र समावेशी एआई अभ्यासलाई आधार मान्नुपर्नेमा जोड दिए। उनले नीति समग्र समाजलाई लाभ पुर्‍याउने गरी तयार गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा एआई एसोसिएसन नेपालले आगामी दिनहरूमा एआई सम्बन्धी नीतिगत बहसहरू, अनुसन्धान अनुदान कार्यक्रम, र ओपन-सोर्स एआई स्रोत केन्द्र स्थापना गर्ने योजनाबारे जानकारी गराउँदै, अनुसन्धानकर्ता, उद्यमी, तथा सरोकारवालाहरूलाई नेपालमा समावेशी, पारदर्शी, र जिम्मेवार एआई प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्न आह्वान गरेको छ।

प्रकाशित: २७ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया