Technology Khabar २७ माघ २०८१, आईतवार
काठमाडौं ।
यस वर्षको सुरक्षित इन्टरनेट दिवस माघ २९ गते मंगलबार विश्वका १७० भन्दा बढी मुलुकमा मनाइँदैछ।
युवाहरूको परामर्शमा तयार पारिएको यस वर्षको अभियान अनलाइन ठगी अर्थात् स्क्याममा केन्द्रित छ, जसले युवाहरूलाई आफू र अरूलाई कसरी जोगाउने भन्ने ज्ञान प्रदान गर्न, साथै यस सम्बन्धमा उपलब्ध सहयोगका स्रोतहरूबारे सचेत गराउने उद्देश्य राखेको छ।
यस वर्ष सुरक्षित इन्टरनेट दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभाव अध्ययन गरिनेछ र युवाहरूले आफ्नो अनुभव तथा समाधानका उपायहरू साझेदारी गर्न पाउने प्लेटफर्म प्रदान गरिनेछ।
यस अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन (अनलाइद्द फाइनान्सियल सेक्स्टोर्सन) जस्ता जोखिमहरूको बारेमा जनचेतना अभिवृद्धि गर्दै, भविष्यमा ठगीका स्वरूपहरू कस्ता हुनसक्छन् भन्ने प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्ने बालबालिका र युवाहरूका लागि सुरक्षित, सकारात्मक र जिम्मेवार इन्टरनेट प्रवर्द्धन गर्न चाइल्डसेफनेटले जनाएको छ। जस्तै:
नयाँ प्रविधि, जस्तै जेनेरेटिभ एआई (Generative AI), ले ठगहरूको तरिकामा कस्तो प्रभाव पार्न सक्छ ?
अनलाइन सुरक्षाका लागि सरकार र इन्टरनेट उद्योगले के भूमिका खेल्न सक्छन् ?
युवाहरूले आफ्नो अनलाइन सुरक्षाका लागि कस्ता परिवर्तनहरू चाहन्छन् ?

यो अभियानले सरकार, नीति निर्माताहरू, कानूनी निकाय, दूरसञ्चार नियामकहरू, प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायकहरू, सञ्चारमाध्यम र अन्य जिम्मेवार पक्षहरूलाई बालबालिका तथा युवाहरूका लागि सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गर्दछ। साथै, युवाहरू, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई सुरक्षित डिजिटल वातावरण निर्माण गर्न योगदान पुर्याउन प्रेरित गर्ने बताइएको छ।
चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी भन्छन्, “बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा (अनलाइन इन्टिमेट पार्टनर भायोलेन्स) तथा डीपफेक यौन दुरुपयोग (डीपफेक सेक्सुअल एब्युज) जस्ता नयाँ खतराहरूको चपेटामा परिरहेका छन्। त्यसैले डिजिटल युगमा बालबालिकाको सुरक्षाका लागि सरकार, विद्यालय, अभिभावक तथा प्रविधि कम्पनीहरूले लगानी वृद्धि गर्न जरुरी छ।”
चाइल्डसेफनेट तथा सेक्सुअल भायोलेन्स रिसर्च इनिशियटिभ (एसभीआरआई) द्वारा नेपालका १० जिल्लाका युवाहरूमा गरिएको एक अध्ययन अनुसार, चारमध्ये एक जना युवाले अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा (अनलाइन आईपीभी) को सामना गरिसकेका छन्।

अनलाइन सुरक्षाको लागि अभिभावकको भूमिका महत्त्वपूर्ण रहन्छ। तर, चाइल्डसेफनेटको एक अध्ययन अनुसार, ८५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकासँग अनलाइन सुरक्षाबारे छलफल गर्दैनन्।
अनलाइन यौन दुर्व्यवहार तथा शोषणबाट कसरी जोगिने भन्ने विषयमा त धेरै कम अभिभावकले मात्र बालबालिकासँग कुरा गर्ने गरेको पाइएको छ।
जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासले नयाँ चुनौतीहरू जन्माएको छ। अपराधीहरूले बाल यौन दुरुपयोगसम्बन्धी सामग्री उत्पादन गर्न यस प्रविधिको दुरुपयोग गरिरहेका छन्।

साथै, जेनेरेटिभ एआईको दुरुपयोगबाट गलत सूचना (मिसइन्फर्मेशन), भ्रामक सूचना (डिसइन्फर्मेशन) र घृणा फैलाउने सामग्री (हेट स्पीच) ठूलो मात्रामा र अत्यन्तै छिटो फैलिन सक्छ।
बालबालिका तथा युवाहरूको डिजिटल सुरक्षा सुनिश्चित गर्न, चाइल्डसेफनेट ले नेपालका ४० भन्दा बढी जिल्लामा अनलाइन सुरक्षा तालिमहरू सञ्चालन गरिरहेको छ। तर, अझ धेरै बालबालिका, युवा, अभिभावक, सेवा प्रदायक र नीति निर्माता सम्म पुग्न आवश्यक छ।

रघुवंशीले बालबालिका तथा युवाहरूको डिजिटल सुरक्षाका लागि बहु-क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउँदै, बालबालिकालाइ सानै उमेरदेखि नै डिजिटल सुरक्षाबारे सिकाउनु पर्ने आवश्यकता औंल्याए।
यस वर्ष संयुक्त राष्ट्रसंघका निकायहरू, अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरू, समुदाय-आधारित संगठनहरू, निजी क्षेत्र र सञ्चारमाध्यमहरू लगायत ५० भन्दा बढी संघसंस्थाले नेपालमा सुरक्षित इन्टरनेट दिवस प्रवर्द्धन गर्न चाइल्डसेफनेटसँग एक्यवद्धता जनाएका छन्।
प्रकाशित: २७ माघ २०८१, आईतवार