लाइका–प्रेरित डिजाइनको साथ नयाँ शाओमी १५ अल्ट्राको लाइभ ईमेज लीक

Technology Khabar २७ माघ २०८१, आईतवार

काठमाडौं ।

शाओमी १५ अल्ट्रा यस महिनाको अन्तिममा आउँदैछ भने भर्खरै उक्त नयाँ फोनको अर्को ह्यान्ड्स–अन ईमेज (तस्बिर) देखा परेको छ।

नयाँ फोनको अहिलेको लीक र पहिले लीक गरिएका रेन्डरहरू मिल्दोजुल्दो भए तापनि क्यामरा लेन्सहरूको प्लेसमेन्ट अपेक्षा गरेजस्तो मनमोहक नभएको बताइएको छ।

साथै, नयाँ तस्बिरले लाइका क्यामराको क्लासिक डिजाइन जस्तै फोनको ब्याक प्यानलमा एक चौथाई मेटल (धातु) र तीन चौथाई लेदर (छाला) देखाएको छ।

फोनको पछाडि दुई पङ्क्तिहरूमा मिलाएर राखिएको चारवटा क्यामराहरू देख्न सकिने र त्यसको पहिलो पङ्क्तिमा २०० मेगापिक्सेल सेन्सर र पेरिस्कोप लेन्सको लागि आरक्षित गरिएको बताइएको छ।

त्यसैगरी दोस्रो पङ्क्तिमा १–इन्च टाइपको मुख्य क्यामरा, ५० मेगापिक्सेलको सर्ट–रेञ्ज टेलिफोटो र ५० मेगापिक्सेलको अल्ट्रा–वाइडको लागि भएको उल्लेख गरिएको छ।

शाओमी १५ अल्ट्रामा स्न्यापड्रागन ८ एलिट चिपसेट समावेश गरिने र हाइपरओएस २ को साथ एन्ड्रोइड १५ समावेश हुने उल्लेख गरिएको छ। त्यसैगरी फोनको ब्याट्रीले ९० वाट वायर्ड चार्जिङलाई समर्थन गर्ने अपेक्षा गरिएको छ भने यसको क्षमता कथित रूपमा ६,००० एमएएचमा बढ्ने उल्लेख गरिएको छ।

शाओमी १५ अल्ट्रा फेब्रुअरी महिनाको अन्त्यमा चीनमा लन्च गरिने र पछि बार्सिलोना, स्पेनमा एमडब्ल्यूसीमा ग्लोबल अनावरण गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २७ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया