Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
स्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल विधेयकबारे देखिएको युवाहरुको विरोधको आवाज सुनेर छलफलमा डाक्न तथा दम्भ देखाएर, पेलेर पारित नगर्न सरकारसँग माग गरेकी छिन्।
आजको प्रतिनिधि सभामा बोल्दै सांसद श्रेष्ठले कन्टेन्ट क्रियटर अर्थात् सामाजिक सञ्जालमा राखिने सामग्री सर्जकहरुले सरकारले दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोग नियमनसम्बन्धी विधेयकको विरोधमा ‘यो अधिनायकवाद भयो, यसले वाक स्वतन्त्रता हनन गर्छ’ भनेर आवाज उठाएको बताइन्।
‘यो आवाजलाई के सरकारले सुन्छ? विधेयक बनाउँदा जसका लागि ल्याइएको हो उहाँहरुसँग छलफल गरिन्छ?’ उनले प्रश्न तेर्स्याइन्।
यो पारित भएमा युवाहरुको आवाज लेफ्ट, राइट र सेन्टर कसैले पनि नबुझ्ने पुष्टि गर्ने उनले बताइन्। यसरी उठाइएको आवाजबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद श्रेष्ठले सुझाइन्, ‘युवालाई बोलाउनुस्, युवासँग सम्वाद गर्नुस्, जनताको आवाज सुन्नुस्।’
सदनमा दुई तिहाईको दम्भ देखाएर विधेयकहरु पेलेरै पास गराउने गरेको आफूले देखेको अवगत गराउँदै उनले सरोकारवाला कन्टेन्ट क्रियटरहरुलाई बोलाएर छलफल गरेर कन्टेन्ट क्रियशन भनेको के हो, सामाजिक सञ्जालमा परिचय कसरी बनाइन्छ कसरी आफ्नो पर्सनल ब्राण्डिङ गरिन्छ भन्ने बुझ्न पनि सरकारलाई उनको सुझाव थियो।
यति सजिलो कुरा सम्म नबुझीकन विधेयक ल्याइएको आरोप लगाउँदै उनले युवाहरुले यो विधेयकबारे सामाजिक सञ्जालको विरोधलाई अहिले नै मनन गरेर यसको सम्बोधन गर्न माग गरिन्।
यस्तै उनले युवाहरुलाई पनि उनीहरुको आवाज सदनले सुन्नै पर्ने र कुनै पनि पार्टीको डोरी समाएर आफ्नो नेतालाई भनेर आफ्ना कुरा सुनाउँछु भन्ने नभई सबै सांसदले आफ्नो पार्टीको भए पनि नभए पनि युवाको आवाज, जनताको आवाज बोक्नै पर्ने प्रस्ट पार्दै सरकारलाई पुन: एकपटक सुनाइन्, ‘युवाको आवाज छ- बोल्न दे सरकार ! ह्याशट्याग रिभाइज सोसल मिडिया बिल !’
प्रकाशित: २४ माघ २०८१, बिहीबार