Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्ष भित्र ‘आईटी पार्क’ स्थापना गर्ने बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए।
उनले भने,“काठमाडौँमा यस वर्षभित्रै आईटी पार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ।”
कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए।
सूचना प्रविधिको युगमा आइपुग्दासमेत नेपालमा एउटा पनि ‘आईटी पार्क’ नहुनु भनेको प्राविधिक हिसाबले पछिपर्नु रहेको बताउँदै उनले आफु मन्त्रालयको तर्फबाट इन्फास्ट्रक्चर,आईटी नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए।
“डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न सूचना प्रविधिका पूर्वाधार सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने, “यस वर्ष जसरी पनि काठमाडौँमा एउटा आईटी पार्क बनाउछौँ।” त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए। साथै यसै वर्षभित्र सात सय ५३ पालिकामा फोरजी सबैका घर–घर पुर्याउने र फाइभजी काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए।
साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपालपछि परेको अवस्था दर्शाउँदै मन्त्री गुरुङले भने,“सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ।”
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियोमार्फत शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो। सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले अध्ययादेशमार्फत कानुन ल्याएर विदेशमासमेत लगानी गरी उद्योग सञ्चालन गर्न सकिने वातावरण सिर्जना गरेको र यसले युवा रोजगारमा उत्साह थपेको विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीले क्यान जस्ता निजी क्षेत्रको सहकार्यबाट सरकारको डिजिटल फेमवर्क नेपाल बनाउने उद्देश्य सार्थक हुन सक्ने धारणा राखे।
क्यानका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारले अध्यादेश देशमार्फत ल्याएको कानुनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको बताइन्। सञ्चार मन्त्रालयले तयार पारेको एआई नीतिमाथि क्यानले सुझाव दिएर अझै जनमुखी बनाउने समेत अध्यक्ष पाण्डेले बताइन्। रासस
प्रकाशित: २४ माघ २०८१, बिहीबार