Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा आज माघ २४ गतेदेखि ४ दिनसम्म चल्ने क्यान इन्फोटेकको ३०औं संस्करणको एआई रोबोटबाट डिजिटल बत्ती बालेर उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआई रोबोटबाट डिजिटल बत्ती बालेर क्यान इन्फोटेकको उद्घाटन गरेका हुन्।
यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत् सूचना प्रविधिसम्बन्धी आविस्कार तथा छलफल हुने यो प्रदर्शनीले डिजिटल नेपालको अवधारणा अनुरुप नव प्रवर्तन तथा सीपमूलक कार्यक्रमहरुलाई अघि बढाएर देशलाई समृद्ध बनाउन सकोस् भन्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ।

यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि रू.१०० र विद्यार्थीका लागि रू.५० शुल्क तोकिएको छ। जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने महासंघको बुझाई छ।
यसपटक क्यान इन्फोटेकमा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्टसमेत भृकुटीमण्डपमै रहने बताइएको छ। साथै इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गरेर साइबर सुरक्षा समस्यामा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
आयोजककाअनुसार, क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहेका छन्। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ।
प्रकाशित: २४ माघ २०८१, बिहीबार