एआई मोडल डीपसिकलाई समर्थन गर्दै चिनियाँ चिप निर्मातादेखि क्लाउड सेवा प्रदायकसम्म

Technology Khabar २४ माघ २०८१, बिहीबार

काठमाडौं ।

चिप निर्मातादेखि क्लाउड सेवा प्रदायकसम्मका चिनियाँ कम्पनीहरू डीपसिकका कृत्रिम बुद्धिमता अर्थात् एआई मोडलहरूलाई समर्थन गर्न दौडिरहेका छन् जसले विश्लेषकहरूलाई उद्योगको लागि “ऐतिहासिक क्षण” भएको घोषणा गर्न प्रेरित गरेको छ।

मूर थ्रेड्स र हाइगन इन्फर्मेशन टेक्नोलोजीले सोमबार उनीहरूको कम्प्युटिङ क्लस्टर र एक्सेलेरेटरहरूले डीपसिकका आर१ र भी३ मोडलहरूलाई समर्थन गर्न सक्षम हुने घोषणा गरे।

मूर थ्रेड्सले आफ्नो वीच्याट पोस्टमा डीपसिकलाई उल्लेख गर्दै घरेलु रूपमा निर्मित ग्राफिक प्रोसेसिङ युनिट प्रयोग गरेर कम्पनीका मोडलहरूले हासिल गरेको प्रगतिले चीनको एआई उद्योगलाई “प्रज्वलित” गर्न सक्ने बताएको छ।

शनिबार ह्वावे टेक्नोलोजिजले पनि घोषणा गर्‍यो कि एआई पूर्वाधार स्टार्टअप सिलिकनफ्लोसँग मिलेर आफ्ना एसेन्ड क्लाउड सेवामा डीपसिकका मोडलहरू ग्राहकहरूलाई उपलब्ध गराउन काम गरिरहेको छ।

यी मोडलहरूको प्रदर्शन विश्वव्यापी उच्चस्तरीय चिपहरूमा आधारित मोडलहरूको तुलनामा समान रहेको ह्वावेले थप बताएको छ।

बर्न्स्टाइनका विश्लेषकहरूले आइतबार प्रकाशित नोटमा भनेका छन्, “ह्वावेले डीपसिकका मोडलहरूलाई एसेन्ड चिपसँग एकीकृत गरेको समाचारले ‘ऐतिहासिक क्षण’ को प्रतिनिधित्व गर्दछ।”

“डीपसिकले प्रतिस्पर्धी ठूला भाषा मोडलहरू (एलएलएम) चीनका ‘पर्याप्त सक्षम’ चिपहरूमा चलाउन सकिन्छ भन्ने देखाएको जसले अत्याधुनिक अमेरिकी हार्डवेयरमा निर्भरता कम गर्न सक्छ,” विश्लेषकहरूले एसेन्ड, क्याम्ब्रिकन र हाइगनको योजनाबद्ध चिपहरूलाई उद्धृत गर्दै भनेका छन्।

अलिबाबा, बाइदु र टेन्सेन्टका क्लाउड शाखाहरूले पनि डीपसिकका मोडलहरू आफ्ना सेवाहरूमार्फत उपलब्ध गराएको घोषणा गरेका छन्।

रोयटर्सका अनुसार गत महिना डीपसिकले एउटा निःशुल्क एआई सहायक सार्वजनिक गरेको थियो, जसले कम डाटा प्रयोग गर्दै हालका सेवाहरूको तुलनामा निकै कम लागतमा काम गर्न सक्ने दावी गरेको छ।

केही दिनभित्रै, यसको एपले एप्पलको एपस्टोरमा अमेरिकी प्रतिस्पर्धी च्याटजीपीटीलाई डाउनलोडमा पछि पारेको थियो, जसले विश्वव्यापी रूपमा प्रविधि शेयरहरूको मूल्य घटाएको थियो।

डिसेम्बरमा प्रकाशित अनुसन्धान पत्रले डीपसिक-भी३ को प्रशिक्षणमा एनभिडियाको एच८०० चिपहरूबाट ६ मिलियन डलरभन्दा कमको कम्प्युटिङ पावर आवश्यक परेको बताएको थियो, जुन मेटा र माइक्रोसफ्टजस्ता कम्पनीहरूले खर्च गर्ने अर्बौं डलरको तुलनामा निकै कम थियो।

प्रकाशित: २४ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया