नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा ल्यायो एनिभर्सरी अफर, टिकटक हेर्नेलाई छुट्टै प्याकेज

Technology Khabar २२ माघ २०८१, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ।

आज आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले कम्पनीको कार्यशैली र संस्कारलाई उपभोक्ता मैत्री गराई बनाई हाम्रो उपस्थिति हाम्रा ग्राहकको लागी भन्ने कुरा व्यवहारमा तत्काल रुपान्तरण गर्न अभिप्रेरित गर्ने वातावरण श्रृजना गरिने बताएकी छन्।

उनले भनिन् “सेवाग्राहीहरुबाट अभिब्यक्त सुझावहरुलाई सकारात्मक रुपमा ग्रहण गरी सेवाको स्तरोन्नतिका लागी आवश्यक पूर्वाधार निर्माण एवं क्षमता बिस्तार गर्दै हाम्रा कार्यशैली पूर्ण प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बनाउन प्राथमिकता दिइने छ।”

यसैगरी २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा, कम्पनीले एनिभर्सरी प्याकेज अन्तरगत विभिन्न प्याकेज अफर दिने घोषणा गरेको छ।

कम्पनीले माघ २२ देखि फागुन ८ सम्म १५ दिन सम्मको लागि ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिडेट डाटा प्लस १२० मिनेट भ्वाइस प्याकेज दिनेछ।

यसैगरी ४९९ रुपैयाँमा १ महिना समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल सार्वजनिक गरेको छ। कम्पनीले ५९९ तोकिएको र समयावधि १ महिना रहेको अनलिमिटेड डाटा प्याक ल्याएको छ भने ७९९ रुपैयाँ लाग्ने अनलिमिटेड प्रिमियम डाटा प्याक १ महिना अवधिका लागि दिनेछ।

यसका साथै कम्पनीले ७९९ रुपैयाँ तोकिएको फेस्टिभ कम्बो प्याक १ महिना अवधिसहित ल्याएको छ।

माघ २२ देखि फागुन २१ गते सम्म लागु हुने गरी एफटीटीएच ग्राहकहरुका लागि अर्को प्याकेज समेत ल्याएको छ।

यसमा नयाँ तथा पुराना ग्राहकले एफटीटीएच ५०/७५/१००/ १५० तथा २०० एमबीपीएसको वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा उपलब्ध गराईने छ। साथै दुई बर्ष समयावधिको एफटीटीएच प्याकेज खरिदमा पन्ध्र प्रतिशत छुटको व्यवस्था गरिएको छ।

टेलिकमले टिकटक प्रेमीहरुका लागि छुट्टै प्याकेज ल्याएको छ जसअन्तरगत दैनिक टिकटक प्याकेज ५ एमबीपीएसको गतिमा २० जीबी खपत गर्नेलाई ४८ रुपैयाँ शुल्क लाग्नेछ भने साप्ताहिक प्याकेज १७० रुपैयाँमा किन्दा रुपमा ५ एमबीपीएसको गतिमा २० जीबी प्रयोग गर्न पाईनेछ।

नेपाल टेलिकमले ईसीम एप र वेबसाइटबाट समेत लिन सकिने सुबिधा ल्याएको छ। “अहिलेसम्म ग्राहकहरूले eSIM लिनको को लागि काउन्टरमा जानु पर्ने बाध्यता थियो नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइट मार्फत सहजै प्राप्त गर्न सक्नेछन्,” एमडी पहाडीले भनिन्।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया