स्पेसएक्सको स्टारशिप मेगारकेट अप्रत्याशित रुपमा विस्फोट हुँदा वातावरणमा कति प्रदूषण निम्त्यायो?

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
स्पेसएक्सको स्टारशिप मेगारकेट अप्रत्याशित रुपमा विस्फोट हुँदा वातावरणमा कति प्रदूषण निम्त्यायो?

काठमाडौं ।

मध्य जनवरीमा भएको स्पेसएक्सको स्टारशिप मेगारकेटको अप्रत्याशित विस्फोटले क्यारिबियनमा ज्वलन्त धातुका टुक्रा वर्षा गर्दा पृथ्वीको माथिल्लो वायुमण्डलमा हानिकारक हावाप्रदूषण फैलिएको हुनसक्छ।

यो रकेटको माथिल्लो चरण करिब ९० माइल (१४६ किलोमिटर) उचाइमा विस्फोट भएको थियो जुन खगोलशास्त्री र अन्तरिक्ष फोहोर विशेषज्ञ जोनाथन म्याकडोवेलका अनुसार प्रोपेलेन्ट बाहेक ८५ टन तौलको थियो।

वायुमण्डलबाट पृथ्वीमा झर्ने क्रममा यसले ४५.५ मेट्रिक टन धातु अक्साइड र ४० मेट्रिक टन नाइट्रोजन अक्साइड उत्पादन गरेको हुनसक्ने अनुमान युनिभर्सिटी कलेज लन्डनका वायुमण्डलीय रसायनशास्त्री कोनर बार्करले गरेका छन्। विशेष गरी नाइट्रोजन अक्साइडले पृथ्वीको सुरक्षात्मक ओजोन तहलाई क्षति पुर्याउन सक्ने सम्भावना हुन्छ।

स्पेस डटकमका अनुसार बार्करले यो घटनाको केही समयपछि आफ्नो अनुमान लिंक्डइनमा पोस्ट गरेका थिए। उनले स्पेस डटकमलाई इमेलमार्फत् यी आँकडाहरू प्रारम्भिक अनुमान भएका र सटिक गणना नभएका जानकारी दिएका थिए।

बार्करका अनुसार यो विस्फोटले उत्पादन गरेको सम्भावित धातु प्रदूषण पृथ्वीको वायुमण्डलमा वार्षिक रूपमा जल्ने उल्का पिण्डहरूबाट उत्पन्न हुने धातुको प्रदूषणको एक तिहाइ जति हुनसक्छ।

यो विस्फोटबाट उच्च वायुमण्डलमा कति प्रदूषण उत्पन्न भयो भन्ने सटीक रूपमा भन्न चाहिँ गाह्रो छ। मेगारकेटको कति भाग जलेर समाप्त भयो र कति भाग समुद्रमा खस्यो भन्नेबारेमा वैज्ञानिकहरू अझै निश्चित छैनन्। म्याकडोवेलका अनुसार “धेरै टन” टुक्राहरू सम्भवतः समुद्रमा खसेका छन्।

सौभाग्यवश स्टारशिपको माथिल्लो चरण एल्युमिनियमबाट नभई स्टेनलेस स्टीलबाट बनेको छ। धेरै स्याटलाइटहरू र अन्य रकेटहरूको माथिल्लो चरणमा प्रयोग हुने एल्युमिनियम जल्दा एलुमिना नामक सेतो धुलो उत्पादन गर्छ। यो पदार्थ ओजोन तहलाई क्षति पुर्याउन र पृथ्वीको वायुमण्डलको परावर्तन क्षमतामा परिवर्तन गर्न सक्ने सम्भावना राख्छ।

हालका वर्षहरूमा, पृथ्वीको कक्षमा स्याटलाइटहरूको संख्या र तिनीहरूको पुनः प्रवेशको गति तीव्र रूपमा बढिरहेको छ। यससँगै एलुमिना जस्ता पदार्थहरूले वायुमण्डलका बीचका तहहरू (मेसोस्फियर र माथिल्लो स्ट्राटोस्फियर) मा फैलावट बढाइरहेका छन्।

उचाइ धेरै भएकोले त्यहाँ उत्पन्न हुने प्रदूषक पदार्थ लामो समयसम्म वायुमण्डलमा रहन्छ। वैज्ञानिकहरूका अनुसार स्याटलाइटहरूको जलनबाट उत्पन्न एलुमिना प्राकृतिक खगोलीय पिण्डहरूको जलनबाट हुने एलुमिनियमको मात्रा बराबर पुग्न थालेको स्पेस डटकमले उल्लेख गरेको छ।

नाइट्रोजन अक्साइड पनि स्याटलाइट पुनः प्रवेशको क्रममा उत्पन्न हुन्छ। तीव्र गतिको कारण हावाको नाइट्रोजन ततिएर अक्सिजनसँग प्रतिक्रिया गर्छ, जसले हानिकारक अक्साइड उत्पादन गर्दछ।

रकेट प्रक्षेपणको वृद्धि, स्याटलाइटहरूको संख्या बढ्दै जानु र तिनको पुनः प्रवेशको तीव्रता बढ्दा यी हानिकारक ग्यास र कणहरूको सघनता तीव्र रूपमा बढ्न सक्छ। यसले पृथ्वीको ओजोन तहको पुनःस्थापनामा बाधा पुर्याउनसक्छ र जलवायुमा गम्भीर असर पार्नसक्छ।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...