Technology Khabar २१ माघ २०८१, सोमबार
काठमाडौं ।
-साजन सुवेदी
हिजो आइतबार बेलुका अचानक नेपालभर इन्टरनेटमा देखिएको समस्या आइतबार राति नै समाधान भएको देखियो। राति करिब ९ बजेदेखि नेपालभर इन्टरनेट सेवामा समस्या आएको थियो। ठूला सेवा प्रदायकहरुको सम्पूर्ण सेवामा अवरोध देखिएको थियो। यसमा निजी क्षेत्रका आईएसपी लगायत दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेल पनि समावेश थिए।
यसरी अचानक इन्टरनेटमा समस्या आउनुको प्रारम्भिक कारणबारे धेरैले आ-आफ्ना हिसाबले अड्कलबाजी गरे। त्यसमध्ये भारतीय अपस्ट्रिम सेवा प्रदायकहरुलाई लामो समयदेखि ब्याण्डविथ बापतको रकम तिर्न नसकिएका कारण ब्याण्डविथ रोकिदिएको पहिलो तथा भारतबाट आउने एयरटेलको फाइबरमा प्राविधिक गडबडी आएको विषय दोस्रो सर्वाधिक चर्चामा रहे।
नेपालमा भारत र चीन दुई देशबाट इन्टरनेट ब्याण्डविथ आयात भइरहेको छ।
राति अबेर समस्या आएका कारण इन्टरनेट सेवा प्रदायक बाहेक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक भनाई भने आउन सकेको थिएन।
आफ्ना सेवामा समस्या आएकोबारे एसएमएस तथा सामाजिक सञ्जालमार्फत सूचना जारी गरेका ठूला इन्टरनेट सेवा प्रदायकहरुले एयरटेलको सेवामा समस्या आएको जानकारी दिएका थिए।
तर उनीहरुकै उच्च अधिकारीहरुले भने भारतीय अपस्ट्रिम सेवा प्रदायकहरुलाई ब्याण्डविथ बापतको रकम तिर्नका लागि सञ्चार मन्त्रालय तथा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सिफारिस रोकिदिएकोले समस्या आएको टेक्नोलोजीखबरलाई बताएका थिए।
मन्त्रालय र प्राधिकरणले ग्रामीण दूरसञ्चार सेवा र रोयल्टीवापतको रकम नतिरेको भन्दै लामो समयदेखि आइएसपीहरुको विदेशी मुद्रा सिफारिस रोकिदिएका छन्। जसको कारण यसअघि पनि एयरटेलले नेपालमा भित्रने ब्याण्डविथ काटिदिएको थियो।
सम्बन्धित समाचार
नेपालमा किन इन्टरनेट काटियो, यस्तो भन्छन् सेवा प्रदायक कम्पनीहरु
इन्टरनेट किन काटियो भन्ने बारेमा हामीले सबै सरोकारवालाहरुसँग कुराकानी गरेका छौं।
पछिल्लो समय ग्रामीण दूरसञ्चार सेवा र रोयल्टीको बक्यौता बुझाइसकेका ठूला इन्टरनेट सेवा प्रदायकहरुले पनि प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस नपाएका कारण ब्याण्डविथबापतको रकम तिर्न नसकिएको बताउँदै आएका छन्। हिजोको इन्टरनेटको गडबडी पनि सोही कारण भएको उनीहरुको तर्क छ।
आईस्पानको भनाई
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार आइतबार सेवामा गड्बडी देखिँदा भुक्तानी रोकिएका कारण नै एयरटेलले कनेक्शन काटिदिएको हो कि भन्ने लागेकोमा उनीहरुलाई समस्याबारे सोधपूछ गर्दा हामीतिर आउने अप्टिकल फाइबरको कनेक्शनमा गडबडी आएको जानकारी पाइयो। उनीहरुलाई समाधानका लागि अनुरोध गरेको र त्यसपछि प्रावधिकहरुले जाँचबुझ गरेर समस्या समाधान गरेको अध्यक्ष पराजुलीको भनाई छ।
‘समस्या आएपछि हामीले औपचारिक ग्राहकका हिसाबले के भएको हो बुझेर तत्काल समाधान गरिदिन भन्न सकेनौं। किनकि हामीले लामो समयदेखि रकम तिर्न सकेका छैनौं। तसर्थ हामीले उनीहरुलाई समस्याबारे अवगत गराएर समाधानको अनुरोध मात्र गर्न सक्यौं’, अध्यक्ष पराजुलीले भने।
रकम तिर्न नसक्नुमा रकम नभएर वा ईच्छा नभएर नभई दूरसञ्चार प्राधिकरणले लामो समयदेखि विभिन्न बहानामा विदेशी मुद्रा सिफारिस रोकिदिएका कारणले भएको उनको भनाई छ।
“नियामक निकायले घरी यो र घरी त्यो बहानामा विदेशी मुद्रा सिफारिस रोकिदिनाले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा जतिबेला पनि समस्यामा पर्न सक्ने देखिएको छ। स-साना र रोक्काको विषय बन्नु नपर्ने कुराहरुसमेतका आधारमा विदेशी मुद्रा सिफारिस रोक्का नगरियोस् भन्ने हाम्रो माग हो।”
उनले थपे, “व्यवसायमा रकम आवश्यक कुरा हो, हामी भुक्तानी गर्न तयार छौं, आरटीडीएफ तथा रोयल्टीबापतको बक्यौता पनि बुझाएकै हौं। तर भ्याट, कर चुक्ता, रोयल्टी, कम्पनी दर्ताको नवीकरण जस्ता विषयहरु कुनै न कुनैमा समस्या देखाएर विदेशी मुद्रा सिफारिस रोकिदिने प्रवृत्तिले गर्दा हामीले विदेशी अपस्ट्रिम सेवा प्रदायकसँग सेवाग्राहीका रुपमा सम्बन्ध बनाउन पाएका छैनौं।”
सम्बन्धित समाचार
भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले इन्टरनेट काटिदिँदा नेपालमा इन्टरनेट सेवामा समस्या
यसै सम्बन्धमा इन्टरनेट सेवा प्रदायक संघ आईस्पानका सीईओ सुभास खड्का भन्छन्, “तत्कालका लागि प्राविधिक कारणले गर्दा रोकिएको भनिएको छ। तर अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले भने विदेशी मुद्रा सिफारिस रोकिएको लामो समय भइसकेकाले भुक्तानी गर्न नसकेका कारण भारतीय अपस्ट्रिम सेवा प्रदायकले जानी जानी नै कनेक्शन काटिदिएको हुनसक्ने आशंका गरेका छन्।”
खड्काका अनुसार भारतीय अपस्ट्रिम सेवा प्रदायकहरु पनि नेपालका आईएसपीहरु र नियामक निकायबीच रहेको समस्याबारे पुरै जानकारी लिएर बसेका हुनाले आरटीडीएफ तथा रोयल्टीबापतको बक्यौता आईएसपीहरुले बुझाइसकेको अवस्थामा पनि भुक्तानी नपाएका कारण अपस्ट्रिम सेवा प्रदायकहरुले प्रतिक्रिया बुझ्नका लागि पनि जानी जानी कनेक्शन काटिदिएको हुनसक्ने बुझिएको छ।
सञ्चार मन्त्रालयको भनाई
तर यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भने बक्यौता तिरिसकेका सेवा प्रदायकहरुको विदेशी मुद्रा सिफारिशका लागि नियामक निकायमा लेखेर पठाइसकिएको बताउँछ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले इन्टरनेटमा समस्या आएकोबारे औपचारिक जानकारी नभएको र आफैंले हिजो बेलुका पनि इन्टरनेटमा काम गरेको साथै अहिले पनि काम गरिरहेको बताए। उनले भने, “एक दुई दिनयता नै ग्रामीण दूरसञ्चार सेवा र रोयल्टीको बक्यौता बुझाइसकेका सेवा प्रदायकहरुको विदेशी मुद्रा सिफारिश खुलाउन नियामक दूरसञ्चार प्राधिकरणलाई लेखेर पठाइसकिएको छ। सेवा प्रदायकहरु आफैं लिन नआउनुभएको हुन सक्छ।”
सम्बन्धित समाचार
देशभर इन्टरनेट सेवामा समस्या, एयरटेलको फाइबर डाउन भएको आशंका
नियामकको भनाई
सोही विषयमा सोध्दा नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले यो समस्या विदेशी मुद्रा सिफारिसका कारण नभई अप्टिकल फाइबरमा आएको गडबडीले निम्त्याएको बताए। उनले भने, “यो विदेशी मुद्रा सिफारिसको कुरा होइन बरु भारतमै अफ्टिकल फाइबरमा आएको समस्याले निम्तिएको हो। अहिले समाधान भैसक्यो।”
यसैगरी, प्राधिकरणका सह-प्रवक्ता डा. प्रदिप पौडेलको भनाई पनि लगभग उस्तै छ। उनका अनुसार पनि यो समस्या इन्टरनेट सेवा प्रदायकहरुको अफ्टिकल फाइबर कनेक्शनका कारण आएको प्रारम्भिक रुपमा बुझिएको तर औपचारिक रुपमा उनीकहाँ कुनै जानकारी आइसकेको छैन।
विदेशी मुद्रा सिफारिस रोकिएको कारणले पो हो कि भन्ने प्रश्नमा सह-प्रवक्ता पौडेलले भने, ‘हामीले शुरुमा त्यस्तो आकलन पनि गरेका थियौं तर म आफैंले इन्टरनेट सेवा प्रदायकसँग बुझ्दा विदेशी मुद्रा सिफारिस रोकिएको कारणले भविष्यमा यस्तो अवरोध आउनसक्ने देखिएको भए पनि हालको समस्या अप्टिकल फाइबरमा देखिएको प्राविधिक समस्या हो भन्ने जानकारी पाएँ। यसबारे विस्तृत बुझ्नुपर्ने आवश्यकता छ।’
सोही बारेमा आईएसपीसँग सम्बन्धित पहिलो स्रोतले पनि तत्कालको समस्या रकम भुक्तानी भन्दा पनि भारतको बिहार क्षेत्रमा एयरटेलको फाइबरमा आएको गडबडीका कारण भएको हुनसक्ने जानकारी पाएको बताए।
तर आईएसपीसँग सम्बन्धित दोस्रो स्रोतले भने प्राविधिक समस्या आउँदा एकैपटक सबै नाकाको आयात अवरोध नहुने बताएको छ।
छिमेकी देश भारतबाट आयात हुने ब्याण्डविथको हिस्सा सबैभन्दा धेरै छ। अहिले भारतमा महाकुम्भ आयोजन चलिरहेको र सबैको ध्यान त्यतै हुँदा यसले समेत प्राविधिक असर पारेको आकलन गर्न सकिन्छ। तर एकैपटक सबै नाकाबाट आउने इन्टरनेट एकैपटक ठप्प नहुने दोस्रो स्रोतको दाबी छ।
” महाकुभ्म चलिरहेको बेलामा प्राविधिक समस्या आएपनि एक स्थानमा मात्र देखिनुपर्ने हो। तर नेपालमा विभिन्न नाकाहरुका आयात हुने सबै ब्याण्डविथ एकैपटक रोकिएको देखिन्छ,” उक्त स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “यसको अर्थ भारतीय अपस्ट्रिम प्रदायकलाई लामो समयदेखिको रकम भुक्तानी नहुनु नै हो।”
यसैगरी आइतबार राती कुराकानी गर्दै अर्को विश्वस्त स्रोतले विदेशी मुद्रा सिफारिस लामो समयदेखि रोकिँदा ब्याण्डविथ काटिएको तर प्राविधिक समस्या भएको भनेर जानकारी दिइएको जिकिर गरेको छ।
“एयरटेलका प्रतिनिधिहरु केही सातादेखि मन्त्रालय र प्राधिकरणमा धाइरहेका छन् तर उनीहरुको गुनासो सुनुवाई भइरहेको छैन,” स्रोतले टेक्नोलोजीखबरसँग भनेको थियो, “उनीहरुले रकम भुक्तानी दिलाइदिन माग गरिरहेका थिए। तर अहिलेसम्म ब्याण्डविथको भुक्तानी हुन सकेन र आज इन्टरनेट काटियो।”
नेपालमा आयात हुने कुल ब्याडविथमध्ये भारती एयरटेलको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।
प्रकाशित: २१ माघ २०८१, सोमबार