एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य

Technology Khabar १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, यो खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिईएको छ।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुद मध्ये एक हो।

यो सिरिज अन्तर्गतको खेल आज बिहिबार (माघ १७) गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा शुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ।

सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्यो। अन्य खेलहरूमा, नेपालले माघ १९ मा थाइल्याण्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्याण्डविरुद्ध, माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध, र माघ २५ मा फेरि थाइल्याण्डविरुद्ध खेल्नेछ।

नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दैछ। कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन्।

यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ। कम्पनीले खेलकुदको विकास, युवा सशक्तिकरण र सामाजिक एकताको प्रवद्र्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको बताएको छ।

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया