Technology Khabar १७ माघ २०८१, बिहीबार
काठमाडौं ।
टेस्लाका सीईओ अर्बपति ईलन मस्कले बुधबार कम्पनीले आगामी जुन महिनामा टेक्सासको अष्टिनमा आफ्नो गाडीहरूको प्रयोग गरेर सशुल्क राइड-हेलिङ रोबोट्याक्सी सेवा सुरू गर्ने घोषणा गरेका छन्। यो घोषणा मस्कका अटोनोमी सम्बन्धी उच्च महत्वाकांक्षी वाचाहरूको पछिल्लो कडी हो जसलाई उनले अझै पूरा गरेका छैनन्।
टेकक्रञ्चका अनुसार मस्कले अन्य विवरणहरूमा भने खासै धेरै कुरा खुलाएनन्। आम्दानीबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले गाडीहरूमा चालक नहुने र यसमा “अनसुपरभाइज्ड” फुल सेल्फ-ड्राइभिङ (एफएसडी) सफ्टवेयरको प्रयोग गरिने बताए जुन हालसम्म सार्वजनिक गरिएको छैन।
उनले यो सफ्टवेयर यसै वर्ष भित्र क्यालिफोर्निया र संयुक्त राज्य अमेरिकाका धेरै क्षेत्रहरूमा गाडी मालिकहरूलाई उपलब्ध हुने पनि बताए। तर गाडी मालिकहरूले आफ्नो गाडीहरूलाई टेस्लाको राइड-हेल फ्लिटमा सामेल गर्ने योजना भने कम्तीमा अर्को वर्षसम्म सम्भव नहुने मस्कले स्पष्ट गरे।
मस्कले २०२५ लाई टेस्लाको “शायद सबैभन्दा महत्त्वपूर्ण वर्ष” मानेका छन्।
टेस्लाले सशुल्क सेल्फ-ड्राइभिङ सेवाको योजना पहिलो पटक गत अक्टोबरमा सार्वजनिक गरेको थियो, जब कम्पनीले स्टीयरिङ ह्वील र पेडल्सबिनाको साइबरक्याब प्रोटोटाइप सार्वजनिक गरेको थियो।
त्यसबेला मस्कले २०२५ मा टेक्सास र क्यालिफोर्नियामा मोडेल वाई एसयूभी र मोडेल ३ सेडानको प्रयोग गरेर राइड-हेलिङ सेवाको प्रारम्भिक संस्करण सुरू गर्ने लक्ष्य रहेको बताएका थिए।
ब्लूमबर्ग न्यूजका अनुसार टेस्ला अष्टिन सहरका अधिकारीहरूसँग यो सेवा सुरू गर्ने विषयमा वार्तामा छ। तर सहरको प्रेस कार्यालयले यसबारे टिप्पणीको लागि तुरुन्तै जवाफ दिएको छैन।
मस्कले बुधबार भने, “हामी सुरूमा सावधानीपूर्वक परीक्षण गर्दैछौं, सबै ठिकठाक छ भन्ने सुनिश्चित गर्न।” तर उनले यसबारे थप विवरण दिएका छैनन्। उनले टेस्लाले टेक्सासस्थित आफ्नो कारखानाको परिसरमा “अनसुपरभाइज्ड” एफएसडी सफ्टवेयर परीक्षण गरिरहेको बताए, जुन वास्तविक संसारको तुलनामा कम जटिलता भएको स्थानका रुपमा रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।
“त्यसपछि, थोरै थप परीक्षण गर्नेछौं, अनि पूर्ण रूपले सुरक्षाको प्राथमिकता राख्दै, सार्वजनिक र गाडीमा सवार व्यक्तिहरूको सुरक्षाको सुनिश्चितता गर्दै अघि बढ्नेछौं,” उनले भने।
प्रकाशित: १७ माघ २०८१, बिहीबार