‘गल्फ अफ मेक्सिको’ अब गुगल म्याप्समा ‘गल्फ अफ अमेरिका’ मा परिणत हुने

Technology Khabar १५ माघ २०८१, मंगलवार

काठमाडौं ।

गुगलले ट्रम्प प्रशासनले “औपचारिक सरकारी स्रोतहरू” अपडेट गरेपछि म्याप्समा गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिका राख्ने सोमबार घोषणा गरेको छ।

कम्पनीले अलास्काको डेनाली भनिने पहाडलाई अब माउन्ट म्याकिन्ले भनेर उल्लेख गर्न सुरु गर्ने बताएको छ। गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले नाम परिवर्तनको आदेश समेटिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसअनुसार औपचारिक नक्सा र संघीय सञ्चारमा नयाँ नाम प्रयोग गरिने सीएनबीसीले उल्लेख गरेको छ।

गुगललेले एक्स पोस्टमा भनेको छ, “हामीले गुगल म्याप्समा नामकरणसम्बन्धी केही प्रश्नहरू प्राप्त गरेका छौँ। आधिकारिक सरकारी स्रोतहरूले नाम परिवर्तन गरेपछि हामी तिनलाई लागू गर्ने लामो समयदेखिको अभ्यासलाई निरन्तरता दिइरहेका छौँ।”

सीएनबीसीका अनुसार मेक्सिकोका प्रयोगकर्ताहरूका लागि गल्फ अफ मेक्सिको नाम जस्ताको तस्तै रहनेछ। अन्य देशका प्रयोगकर्ताहरूले भने दुवै नाम देख्न सक्ने कम्पनीले थप जनाएको छ।

राष्ट्रपति ट्रम्पले पहाडलाई पूर्व राष्ट्रपति विलियम म्याककिन्लेको नाममा पुनःस्थापित गर्ने बताएका छन्। उनले म्याककिन्लेले ट्यारिफ र प्रतिभाको माध्यमबाट देशलाई “धनी” बनाएको दावी गरे।

यो पहाडलाई २०१५ सम्म माउण्ट म्याककिन्ले भनेर चिनिन्थ्यो तर राष्ट्रपति बाराक ओबामाको प्रशासनले यसलाई अलास्काका स्थानीयहरूको सम्मानस्वरूप डेनालीमा परिवर्तन गरेको थियो।

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया