बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण

Technology Khabar १४ माघ २०८१, सोमबार

काठमाडौं ।

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ।

इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ ओटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न रु.३३,५५,५०० (२५,००० अमेरिकन डलर) सहयोग गरेको हो ।

पीडितहरुको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरु निर्माण गरीरहेको हो। नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ ओटा र गरी ५ ओटा आवासहरु निर्माण भईरहेका छन्। यी आवासहरु जाडो गर्मी बाह्रै मास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरु टिकाउ र दिगो रहेका छन् ।

हरेक घरमा २ ओटा बेड रुम, अगाडि बार्दली र पछाडि शौचालय तथा किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ। चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमका प्राकृतिक वातानुकुलित घरहरु तयार पारिएको छ। घरहरुमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ।

घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरुलाई कम्बलहरु पनि प्रदान गरेको छ।

इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन, “हामी समुदायका मानिसहरुलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौँ । हामी सन्चालन हुने ठाउँहरुमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ । यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ ।”

इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “दीगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ । यस सहकार्यले हाम्रो विश्वासलाई मुर्त रुप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरुले आफ्नो जीवन नयाँ तरिकाले शुरुवात गर्न सक्नेछन्। चुनौतीपूर्ण समयमा सहायता प्रदान गर्ने र दीगो समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई यस सहकार्यले मुर्त रुप दिएको छ।”

प्रकाशित: १४ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया