गुगल म्याप्सको भर पर्दा साइकलबाट नेपाल आउन लागेका पर्यटक भारतको बरेइली बाँधमा फसे

Technology Khabar १३ माघ २०८१, आईतवार

काठमाडौं ।

धेरै पटक यात्रुहरु गुगल म्याप्समा भर परेर यात्रा गर्दै कतै अन्तै कतै पुग्छन्। हालसालै यस्ता धेरै घटनाहरू भएका छन्। यस पटक पनि गुगल म्याप्सले यात्रुहरुलाई अन्तै कतै लगेको देखिएको छ।

यस्तै एउटा घटना दिल्लीबाट काठमाडौँ अर्थात् भारतको राजधानीबाट नेपाल आउन लागेका विदेशी पर्यटकहरूको बारेमा प्रकाशमा आएको छ। गुगल म्याप्सको कारणले तिनीहरु अर्कै ठाउँमा पुगेका छन्।

दुई फ्रान्सेली पर्यटक दिल्लीबाट नेपालको राजधानी काठमाडौँका लागि साइकल चलाएर निस्किएका थिए। तर बीचैमा उनीहरूले बाटो बिराए र चुरैली बाँध नजिकै अड्किएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

भारतीय प्रहरीका अनुसार दुवै जनालाई राति गाउँलेहरूले देखेका थिए र उनीहरूलाई चुरैली प्रहरी चौकीमा लगिएको थियो। प्रहरीले साइकल चालकहरूलाई रातभर गाउँका मुखियाको घरमा बस्न लगायो र भोलिपल्ट सही बाटो देखाएपछि बिदा गरेको थियो।

बहेरीका सर्कल अफिसर अरुण कुमार सिंहका अनुसार फ्रान्सेली नागरिक ब्रायन ज्याक्स गिल्बर्ट र सेबास्टियन फ्रान्कोइस गेब्रियल जनवरी ७ मा विमानमार्फत फ्रान्सबाट दिल्ली आएका थिए। उनीहरु पिलिभीतबाट टनकपुर हुँदै नेपालको काठमाडौँ जानुपर्थ्यो। तर गुगल म्याप्सले दुवैलाई अँध्यारोमा फसायो र उनीहरूले बाटो हराए। एपले उनीहरूलाई बरेइलीको बहेरी हुँदै सर्टकट जाने बाटो देखाएको थियो, जसका कारण उनीहरू बाटो बिराएर चुरैली बाँधमा पुगेका थिए।

“जब गाउँलेहरूले मध्यराति ११ बजे सुनसान बाटोमा दुई विदेशीलाई साइकलमा यता उता घुमिरहेको देखे, उनीहरूले पर्यटकहरुसँग कुरा गर्ने प्रयास गरे। तर विदेशीहरूको भाषा नबुझेका कारण कुरा बुझेनन्” उनले भने।

दुई पर्यटकमाथि कुनै अप्रिय घटना हुन नदिन गाउँलेहरूले उनीहरूलाई चुरैलीस्थित प्रहरी चौकीमा लगे। जहाँ प्रहरीले उनीहरुका गाउँको मुखियाको घरमा बस्ने व्यवस्था मिलाएको थियो।

वरिष्ठ प्रहरी उपरीक्षक अनुराग आर्यले यो कुरा थाहा पाएपछि, उनले दुवै फ्रान्सेली पर्यटकसँग कुरा गरे र उनीहरूलाई उनीहरूको गन्तव्यमा पुर्याउन प्रहरीलाई निर्देशन दिएका थिए।

हालसालै भारतमा यस्ता धेरै घटनाहरू भएका छन्, जसमा गुगलको नक्साले यात्रुलाई अन्तै कतै लगेको देखियो।

प्रकाशित: १३ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया