Technology Khabar १२ माघ २०८१, शनिबार
काठमाडौं ।
एलजी इलेक्ट्रोनिक्सले अब रोबोटिक्सलाई आफ्नो अर्को ठूलो विकासको प्रमुख आधार बनाउने दाउ गरेको छ। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनीले क्यालिफोर्निया-आधारित स्टार्टअप बियर रोबोटिक्सको ३० प्रतिशत थप सेयर किन्न सहमति गरेको शुक्रबार जनाएको छ।
यस स्टार्टअपले रेस्टुरेन्टहरूका लागि एआई-सञ्चालित सर्भर रोबोट बनाउँदै आएको छ। यो सम्झौताले एलजीलाई ५१ प्रतिशतको बहुमत स्वामित्व प्रदान गर्छ, जसले गर्दा बियर रोबोटिक्स अब एलजीको सहायक कम्पनी बन्नेछ।
टेकक्रञ्चका अनुसार एलजीले यस पछिल्लो लगानीको मूल्य खुलाउन मानेन; तर, कोरियाको एक स्थानीय मिडियाले यसको लागत करिब १८० मिलियन डलर हुन सक्ने जनाएको छ।
यदि यो सही हो भने बियर रोबोटिक्सको कुल मूल्याङ्कन ६०० मिलियन डलर हुने देखिन्छ। एक कम्पनी प्रवक्ताका अनुसारसम्झौता सम्पन्न भएपछि वास्तविक रकम खुलासा गरिनेछ।
बियर रोबोटिक्स आफ्नो एआई प्रविधिमा विशेषज्ञ छ, जसले विशेष गरी धेरै रोबोटहरूलाई टाढाबाट व्यवस्थापन गर्ने क्षमता प्रदान गर्छ। एलजीले यो प्रविधि आफ्नो “LG CLOi Robots” विकास गर्ने व्यावसायिक रोबोट युनिटसँग एकीकृत गर्ने योजना रहेको आफ्नो विज्ञप्तिमा भनेको छ। यसले एलजीको घरेलु र औद्योगिक रोबोट क्षेत्रलाई थप सशक्त बनाउनेछ।
कम्पनीले व्यावसायिक, औद्योगिक र घरेलु रोबोटहरूको लागि एउटा व्यापक सफ्टवेयर प्लेटफर्म विकास गर्ने काम गरिरहेको बताएको छ। बियर रोबोटिक्सको प्रविधिको सहयोगमा यो लगानी र सम्झौताले एलजीको रोबोटिक्स सफ्टवेयर क्षमता सुधार गर्ने अपेक्षा गरिएको छ।
यो समाचार एलजीले मार्च २०२४ मा बियर रोबोटिक्समा $६० मिलियन लगानी गरेको लगभग एक वर्षपछि आएको हो। त्यो सम्झौताले एलजीलाई बियर रोबोटिक्सको सबैभन्दा ठूलो सेयरधनी बनाइसकेको थियो। पिचबूकको तथ्यांक अनुसार बियर रोबोटिक्सको २०२२ को लगानीमा यसको मूल्याङ्कन ४९० मिलियन डलरभन्दा बढी थियो।
बियर रोबोटिक्सका सीईओ तथा संस्थापक जोन हा र व्यवस्थापन टोली आफ्नो भूमिकामा रहनेछन् र एलजीको रोबोटिक्स युनिटसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनेछन्।
पूर्व गुगल सफ्टवेयर इन्जिनियर र रेस्टुरेन्ट व्यवसायी जोन हाले सन् २०१७ मा बियर रोबोटिक्स स्थापना गरेका थिए। उनले रेस्टुरेन्ट चलाउने चुनौती देखेपछि सर्भर रोबोट विकास गर्ने प्रेरणा पाएका थिए।
सफ्टब्याङ्कद्वारा समर्थित यो स्टार्टअपले अमेरिका, दक्षिण कोरिया र जापानमा इन्डोर डेलिभरी रोबोटहरू सञ्चालन गर्छ। यसको रोबोटहरूले रेस्टुरेन्टका ग्राहकहरूलाई खाना डेलिभर गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।
प्रकाशित: १२ माघ २०८१, शनिबार