Technology Khabar ११ माघ २०८१, शुक्रबार
काठमाडौं ।
स्पेसएक्स आज क्यालिफोर्नियाबाट २३ वटा स्टारलिंक स्याटेलाइटहरू प्रक्षेपण गर्दैछ। स्पेसएक्सले आज (जनवरी २४) क्यालिफोर्नियाको सेन्ट्रल कोस्टबाट आफ्नो स्टारलिंक इन्टरनेट उपग्रहहरूको अर्को समूह प्रक्षेपण गर्ने योजना बनाएको छ।
स्पेसएक्स फाल्कन ९ रकेटमा २३ वटा स्टारलिंक उपग्रहहरू रहेका छन्, जुन आज भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट बिहान ६:०७ बजे स्थानीय समय (१४:०७ जीएमटी, नेपाली समय अनुसार बेलुकी ७: ५२) मा प्रक्षेपण गर्ने तालिका छ। यो ३.५ घण्टाको प्रक्षेपण समयको सुरुवात हो।
स्पेसएक्सले यो प्रक्षेपणको प्रत्यक्ष प्रसारण आफ्नो एक्स खाताबाट प्रक्षेपणको करिब पाँच मिनेटअघि सुरु गर्नेछ।
योजनाअनुसार सबै ठीक रहेमा फाल्कन ९ को पहिलो चरण प्रक्षेपणको आठ मिनेटपछि पृथ्वीमा फर्केर प्रशान्त महासागरमा रहेको ” अफ कोर्स आई स्टिल लभ यू” नामक ड्रोन जहाजमा अवतरण गर्ने स्पेसएक्सले उल्लेख गरेको छ।
यो विशेष बुस्टरको यो २३ औँ प्रक्षेपण र अवतरण हुनेछ। अहिलेसम्मका २२ उडानहरूमध्ये १४ स्टारलिंक मिशनका लागि थिए।
फाल्कन ९ को माथिल्लो चरणले २३ वटा स्टारलिंक उपग्रहहरूलाई पृथ्वीको निम्न कक्षमा लगेर प्रक्षेपणको करिब ६४ मिनेटपछि तिनीहरूलाई त्यहाँ छोड्नेछ। आजको प्रक्षेपण २०२५ को ११ औँ फाल्कन ९ मिशन र यस वर्षको सातौँ स्टारलिंक मिशन हो।
स्टारलिंक अहिलेसम्मको सबैभन्दा ठूलो उपग्रह समूह हो र यो निरन्तर बढिरहेको छ। खगोलभौतिकविद् र उपग्रह ट्र्याकर जोनाथन म्याकडोवेलका अनुसार, हाल यो नेटवर्कमा ६,९०० भन्दा बढी सक्रिय उपग्रहहरू रहेका छन्।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार