Technology Khabar ९ माघ २०८१, बुधबार
काठमाडौं ।
भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले सिम कार्ड सम्बन्धी नयाँ नियम सार्वजनिक गरेको छ। उक्त नियमले सिम कार्डको म्यादसँग सम्बन्धित समस्या समाधान गर्दै रिचार्ज गर्न बिर्सने प्रयोगकर्ताहरूलाई ठूलो राहत प्रदान गर्ने बताइएको छ।
इण्डियाटीभीन्यूजका अनुसार यी निर्देशिकाहरू जियो, एयरटेल, भोडाफोन आइडिया तथा भारत संचार निगम लिमिटेड (बीएसएनएल)का सिम कार्डहरूलाई लामो समयसम्म सक्रिय राख्न डिजाइन गरिएको हो। यसले प्रयोगकर्ताहरूलाई बारम्बार रिचार्ज गर्नुपर्ने झन्झट हटाएर खर्च बचत गर्न मद्दत गर्नेछ।
जियो, एयरटेल तथा भोडाफोन आइडियाको म्याद
नयाँ नियम अनुसार यदि कुनै प्रिपेड सिम कार्ड ९० दिनसम्म निष्क्रिय रह्यो भने त्यसको सक्रियता थप ३० दिनका लागि बढाउन यसको ब्यालेन्सबाट २० रुपैयाँ कटौती गरिनेछ। तर यदि सिममा पर्याप्त ब्यालेन्स छैन भने सिम निष्क्रिय हुनेछ र फोन कल, इन्टरनेट जस्ता सेवाहरू प्रयोग गर्न नसकिने अवस्था आउन सक्छ।
९० दिनसम्म प्रयोग नगरिएको दोस्रो सिम प्रयोगकर्ताहरूले तत्काल चिन्ता लिनुपर्दैन। यस्तो अवस्थामा सिम पुन: सक्रिय गर्नका लागि १५ दिनको अतिरिक्त समय दिइनेछ। यो अवधिमा ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर वा कम्पनीको स्टोरमा गई सिम पुन: सक्रिय गराउन सकिने उल्लेख छ।
तर एक पटक सिम पूर्णरुपमा निष्क्रिय भएपछि, सम्बन्धित फोन नम्बर पुनः साइकल गरी नयाँ प्रयोगकर्ताहरूलाई उपलब्ध गराइनेछ।
बीएसएनएलको म्याद सबैभन्दा बढी
भारतको सरकारी स्वामित्वको बीएसएनएलले भारतभर सबैभन्दा लामो म्याद प्रदान गरेको छ। कुनै पनि बीएसएनएल सिम १६५ दिनसम्म रिचार्ज नगरी सक्रिय रहन सक्छ। बारम्बार रिचार्ज गर्न नचाहने प्रयोगकर्ताहरूका लागि यो सबैभन्दा सुविधाजनक विकल्प हो।
रिपोर्टकाअनुसार, यी नयाँ नियमहरूले सिम व्यवस्थापनलाई सजिलो बनाउँछ र विशेष गरी धेरै नम्बरहरू सम्हाल्नुपर्ने वा महँगो योजनाहरूको सामना गरिरहेका व्यक्तिहरूलाई रिचार्ज योजना प्रभावकारी रूपमा बनाउने अवसर दिने आकलन गरिएको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार