प्रविधि र सामाजिक सञ्जालको शक्ति: भाइरल भिडियोमा देखिएका युवक पिट्ने असई निलम्बित

Technology Khabar ८ माघ २०८१, मंगलवार

काठमाडौं ।

आचरणविपरीत प्रहरीले मध्यरातमा सर्वसाधारण नागरिकलाई निर्घात कुटपिट गरेको भन्दै नेपाल प्रहरीले आफ्ना एक जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरेको छ।

चितवनको प्रहरी चौकी गणेशस्थानमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई जिल्ला प्रहरी कार्यालय चितवनले निलम्बन गरेको हो। चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीको आचरणविपरीत काम गरेको देखिएकाले कारबाहीस्वरूप घर्तीलाई निलम्बन गरिएको जानकारी दिए।

घर्तीले एक सर्वसाधारणलाई लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरोले कारबाही गर्न बाध्य भएको हो। भरतपुर महानगरपालिका ११ स्थित बसेनी चोकमा गत पुस १५ गते राति जाँचका क्रममा सो घटना भएको थियो।

सम्बन्धित समाचार

आफ्नो कर्मचारीले सडकमै युवकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि हेडक्वार्टर भन्छ: विभागीय कारबाही हुँदैछ

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

“पुस १५ गते राति करिब १०:१५ बजेतिर सो घटना भएको देखिन्छ। घटनामा प्रत्यक्ष संलग्न भएको देखिएपछि प्रसनि घर्तीलाई कारबाही गरिएको हो,” उनले भने।

प्रहरीका अनुसार रातको समयमा एउटा स्कुटरसहित चारवटा मोटरसाइकलमा युवाहरू हुँइकिदै आएका र उनीहरूलाई जाँच गर्ने क्रममा सो घटना हुन पुगेको हो। चितवनमा प्रहरीले बुलेट मोटरसाइकलको अनावश्यक आवाज नियन्त्रण अभियान चलाइरहेका बेला यो घटना भएको हो।

एक युवकलाई निर्ममतापूर्वक प्रहरीले कुटेको भिडियोमा देखिन्छ। ती युवकले मोटरसाइकल छुटाउन आफूभन्दा माथिल्लो मातहतका व्यक्तिलाई टेलिफोन गर्न लागेपछि ड्युटीमा रहेका प्रसनि घर्तीले युवकलाई लात्ती हानेको भिडियोमा देखिएको उल्लेख गरिएको छ।

यस सम्बन्धमा सोमबार बेलुका नै नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरी घटनामा संलग्न प्रहरीको नाम नतोकी विभागीय कारबाही थालेको बताएको थियो।

आजको गोरखापत्रबाट

प्रकाशित: ८ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया