नवलपरासीमा सिसिटिभी बिग्रँदा अपराधका घटनामा वृद्धि

Technology Khabar ७ माघ २०८१, सोमबार

नवलपरासीमा सिसिटिभी बिग्रँदा अपराधका घटनामा वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

बुटबल-नारायणगढ सडकखण्ड विस्तार गर्ने क्रममा सडक छेउछाउका बिजुलीको पोलमा राखिएका सिसिटिभी क्यामरा बिग्रन थालेका छन्। बिजुलीको पोल हटाउँदा सिसिटिभीले काम गर्न छाडेपछि अहिले जिल्लामा अपराधका घटना बढ्दै जान थालेका छन्।

पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्मका ७६ स्थानमा राखिएका सिसिटिभी अहिले सडक विस्तार गर्ने क्रममा बिजुलीको पोल सार्दा सिसिटिभी बिग्रेका कारण आपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

स्थानीय प्रशासनले सबै पक्षको सहकार्यमा राजमार्गदेखि अन्य संवेदनशील क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणका लागि यसअघि सिसिटिभी जडान गरेको थियो।

सदरमुकाम कावासोती, गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका बुटवल-नारायणगढ सडकखण्डको जगल क्षेत्रमा ७६ स्थानमा सिसिटिभी जडान भए पनि अहिले तो सबै बिग्रिएपछि मर्मतसम्भारको काम नहुँदा सडकदेखि हरेक संवेदनशील क्षेत्रमा आपराधिक घटना बढ्दै जान थालेको र जति सक्दो चाँडो सिसिटिभी जडानतर्फ लाग्नुपर्ने उद्योग वाणिज्य सक्छ गैंडाकोटका अध्यक्ष दीपक सापकोटाले बताए।

सदरमुकाम कावासोती र आसपासमा जडान भएका सिसिटिभी जडान भएको एक वर्ष पनि नबित्दै काम नलाग्ने भएको र सडक विस्तारका कारणले पनि सिसिटिभी सार्नुपर्ने अवस्था आएकाले पोल गाड्ने काम सकिएपछि सिसिटिभी मर्मत र जडान थालिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विकास ढकालले बताए।

स्थानीय प्रशासनको विशेष सक्रियतामा सुरु भएको यो अभियानले सदरमुकाम कावासोती र पूर्वपश्चिम राजमार्गमा दर्जनौं स्थानमा र गैंडाकोट, देवचुली, मध्यविन्दुमा समेत सिसिटिभी जडान गरी पूर्वी नवलपरासीमा हुने सम्भावित घटना दुर्घटना न्यूनीकरण गर्न सहज भए पनि हाल त्यो बिग्रिएपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

अहिले सिसिटिभी नहुँदा आपराधिक घटना २८ प्रतिशतले बढेको प्रहरीले बताएको छ। यद्यपि आपराधिक घटना घट्न नदिन लागिपरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक साजनकुमार शर्मा बताउँछन्।

आजको गोरखापत्रबाट

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया