पाल्पामा साइबर र बैङ्किङ अपराध बढ्दै

Technology Khabar ७ माघ २०८१, सोमबार

पाल्पामा साइबर र बैङ्किङ अपराध बढ्दै
Symbolic Picture from Freepik.com

काठमाडौं ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ। सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबर अपराध क्रम बढेको हो। सामाजिक सञ्जाल फेसबुक, टेलिग्राम, म्यासेन्जर, भाइबर, ह्वाट्सएपको प्रयोगबाट ठगी गर्ने क्रम बढेको छ।

स्वदेश तथा बिदेशमा भएका विभिन्न व्यक्तिको खातामा रकम राख्ने, चिट्ठा, रोजगारी दिने नाममा फस्ने क्रम बढेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पछिल्लो ११ महिनाको अवधिमा साइबर अपराधसम्बन्धी ५३ वटा मुद्दा दर्ता भएका छन्। त्यसमध्ये अनलाइन फ्रड (ठगी गरेका ३७ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

यस्तै १६ वटा फेसबुक जस्ता सामाजिक सञ्जाल ह्याक गरी विभिन्न अश्लील गतिविधि गरेको भन्दै उजुरी प्रहरीमा आएको उनले जानकारी दिए। यस्तै मोबाइल हराएर फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल ह्याक भएका उजुरी प्रहरीमा आएका छन्।

साइबार अपराधसम्बन्धी ५६ वटा मुद्दा दर्ता भएकामध्ये हालसम्म १७ वटाको मुद्दा फस्र्योट भएका छन् । सामाजिक सञ्जाल तथा अनलाइन ठगीको उजुरी टुंग्याउन प्रहरीको केन्द्रीय तह र बैकसँग समेत समन्वय गर्नुपर्ने भएकाले मुद्दा फस्र्योटमा ढिलाइ भएको प्रहरी उपरीक्षक चन्दको भनाई छ।

बैकिङ अपराध बढ्दै

पछिल्लो समय बैकिङ कसुरका उजुरी पनि प्रहरोमा आउने क्रम बढेको छ। प्रहरीले ११ महिनाको अवधिमा बैकिङ कसुर अन्तर्गत चेक बाउन्स लेनदेनसम्बन्धी २४ वटा मुद्दा दर्ता गरेको छ। घरायसी लेनदेन, संस्थागत लेनदेन तथा व्यवसाय लेनदेनका चेक बाउन्स भएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए।

२४ वटा मुद्दामध्ये १२ वटा मुद्दा फस्र्योट भएका छन्। यो मुद्रा अन्तर्गत १३ जनालाई पक्राउ गरिएको बेल्बासेले बताए। विगतमा बैकिङ कसुरसम्बन्धी मुद्दा कम आउने गरेकोमा पछिल्लो समय दिनहुँ जसो यस्ता मुद्दा प्रहरीसम्म आउने गरेको छ। यस्ता घटनामा नजिकका साथी, आफन्तसमेत जोडिएका प्रहरीले जनाएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया