Technology Khabar ६ माघ २०८१, आईतवार
काठमाडौं ।
युरोपेली आयोगले ईलन मस्कको सामाजिक सञ्जाल नेटवर्क ‘एक्स’ ले सामग्री व्यवस्थापनसम्बन्धी युरोपेली संघका नियम उल्लङ्घन गरेको हो कि होइन भनी जाँचलाई तीव्र बनाएको छ। आयोगले यसका लागि जानकारीको माग गर्दै सम्बन्धित कागजातहरू सुरक्षित राख्न आदेश दिएको छ।
रोयटर्सका अनुसार डिसेम्बर २०२३ मा सुरु भएको अनुसन्धानको भागस्वरूप आयोगले ‘एक्स’ लाई फेब्रुअरी १५ सम्म प्रयोगकर्ताहरूलाई सामग्री सिफारिस गर्ने प्रणाली (रेकमेन्डर सिस्टम) सम्बन्धी आन्तरिक कागजातहरू र हालसालै गरिएका परिवर्तनहरूको विवरण उपलब्ध गराउन भनेको छ।
“आज हामी ‘एक्स’ को रेकमेन्डर प्रणालीले डिजिटल सेवाहरू ऐन (डीएसए) अन्तर्गतका दायित्वहरू पालना गरेको छ कि छैन भनी प्रष्ट पार्न थप कदम चाल्दैछौं,” ईयू डिजिटल प्रमुख हेना विरकुनेनले एक वक्तव्यमा भनिन्।
‘एक्स’ का मालिक मस्क बारम्बार ईयू नियामकहरूसँग ठोक्किएका छन्। केही युरोपेली राजनीतिज्ञहरूले उनलाई जर्मनीको दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ को नेतासँग गरिएको स्ट्रिम गरिएको वार्ताजस्ता कुराहरुले चुनावहरूमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। मस्कले भने ती आलोचनाहरूलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भनेका छन्।
आयोगले ‘एक्स’ लाई रेकमेन्डर एल्गोरिदमको डिजाइन र सञ्चालनमा जनवरी १७ देखि २०२५ को अन्त्यसम्म गरिने परिवर्तनहरू सम्बन्धी आन्तरिक कागजात र जानकारी सुरक्षित राख्न आदेश जारी गरेको छ।
आयोगले ‘एक्स’ का केही प्राविधिक इन्टरफेसहरूमा पनि पहुँच माग गरेको छ।
“यी कदमहरूले आयोगका सेवाहरूलाई प्रणालीगत जोखिमहरू र तिनीहरूको न्यूनीकरण सम्बन्धी जटिल मूल्याङ्कनमा सबै सम्बन्धित तथ्यहरूको ख्याल गर्न मद्दत गर्नेछ,” आयोगलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
प्रकाशित: ६ माघ २०८१, आईतवार