‘फोसिल फ्युल’को प्रयोग घटाउँदै नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्छ : प्रधानमन्त्री

Technology Khabar ४ माघ २०८१, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादकले उत्पादित ऊर्जा खपतका ठाउँ आफैँ बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउँदै उक्त प्रसङ्ग उठाएका हुन्।

सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र तयार गरेको उनले बताए।

“हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन्। धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ। दैलेखमा ग्यास उत्पादन हुँदैछ। ध्वस्त भएका उद्योगले पुनःजीवन पाउँदैछन्। ती सबैमा ऊर्जाका खपत हुनेछ”, प्रधानमन्त्री ओलीले भने, “ग्रीन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ। यस क्षेत्रमा नयाँनयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ। देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्दछु। तपाईंहरु लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन।”

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई ऊर्जा उत्पादकहरुले हासिल गरेको सफलताले देशको अवस्थामा परिवर्तन ल्याएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आयातीत कोइला, पेट्रोल, डिजेललगायत वातावरणमा समेत प्रभाव पार्ने ‘फोसिल फ्युल’को प्रयोग घटाउँदै अधिकभन्दा अधिक नवीकरणीय ऊर्जा उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे।-रासस

प्रकाशित: ४ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया