
काठमाडौं ।
नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवं युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चारमन्त्री गुरुङलाई भेटो बुलिङटार गाउँपालिका-४ को बोझापोखरी र बुलिङटार गाउँपालिका-१ को लामटार डाँडामा नयाँ टावर निर्माण र बुलिङटार गाउँपालिका ३ मा रहेको नेपाल टेलिकमको टावरको क्षमता वृद्धिका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएको हो।
कालीगण्डकी कोरिडोर (गैंडाकोट- बुलिङटार- रामपुर) खण्डमा यात्रा गर्ने यात्रुदेखि स्थानीय बासिन्दाले मोबाइलमा कुरा गर्न नेटवर्कमा समस्या देखिएकाले दुई ठाउँमा नयाँ टावर तथा बुलिङटार ३ मा रहेको टावरको क्षमता बढाउन आवश्यक देखिएको हो।
सञ्चारको युगमा समेत मोबाइलको टावर टिपाउन अग्लो डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता भएकाले मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने काम भएको हो। जतिसक्दो चाँडो नयाँ टावर र क्षमता वृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने मन्त्री गुरुङले जानकारी दिए।
आजको गोरखापत्रबाट
प्रकाशित: ४ माघ २०८१, शुक्रबार