Technology Khabar २ माघ २०८१, बुधबार
काठमाडौं ।
यो साता एउटै रकेटमा दुई निजी चन्द्र ल्यान्डर प्रक्षेपण हुने तयारीमा छन्। स्पेसएक्सको फाल्कन ९ रकेटले यी मिसनहरूलाई लिएर बुधबार बिहान (जनवरी १५) उडान भर्नेछ। प्रक्षेपण समय पूर्वानुमान अनुसार बिहान १:११ ईएसटी (०६:११ जीएमटी) तोकिएको छ। रकेटले नासाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको लञ्च कम्प्लेक्स-३९बी बाट उडान भर्ने बताइएको छ।
फाल्कन ९ ले यी दुई ल्यान्डरहरूलाई पृथ्वीको कक्षमा पुर्याउनेछ, जहाँबाट दुवैले चन्द्रमातर्फ स्वतन्त्र मार्ग अवलम्बन गर्नेछन्।
ब्लू गोस्ट मिशन १
फायरफ्लाइ एरोस्पेसको ब्लु गोस्ट मिशन १, नासाको कमर्सियल लुनर पेलोड सर्भिसेज (सीएलपीएस) कार्यक्रमको हिस्सा हो, जसअन्तर्गत चन्द्रमाको सतहमा वैज्ञानिक उपकरणहरू पुर्याउने लक्ष्य छ।
स्पेस डटकमका अनुसार ब्लु गोस्टले पृथ्वीको कक्षमा २५ दिन बिताएपछि चन्द्रमातर्फ मार्ग परिवर्तन गर्ने इन्जिन प्रज्वलन गर्नेछ। त्यसपछि, अर्को २० दिन (४ दिन यात्रामा र १६ दिन चन्द्रमाको कक्षमा) बिताएपछि, ब्लु गोस्ट मेयर अफ क्राइसेस अर्थात् क्राइससको समुद्रमा स्वचालित रूपमा अवतरण गर्ने योजना छ। अवतरणपछि यसले दुई हप्तासम्म वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछ।
ब्लु गोस्टको पृथ्वीबाट चन्द्रमासम्मको ६०-दिन लामो मिशन चन्द्रमाको रात सुरु भएलगत्तै लगभग पाँच घण्टामा समाप्त हुनेछ। अन्तिम ब्याट्री शक्तिको उपयोग गर्दै, यसले चन्द्रमाको सूर्यास्तको तस्बिर खिच्ने र त्यसपछि बन्द हुने योजना छ।
दोस्रो ल्यान्डर जापानी कम्पनी आईस्पेसको हो जसले हाकुतो-आर कार्यक्रमअन्तर्गत मिशन २ को रूपमा “ रेजिलिएन्स” प्रक्षेपण गर्दैछ। यो मिशन ब्लु गोस्टपछि पृथ्वीको कक्षबाट प्रक्षेपित हुनेछ र चन्द्रमासम्म पुग्न चारदेखि पाँच महिना समय लाग्नेछ।
हाकुतो-आर मिशन १ बाट प्राप्त अनुभवका आधारमा “रेजिलिएन्स” लाई नयाँ हार्डवेयर र सफ्टवेयर सुधार गरिएको छ। यसअघि २०२३ को अप्रिलमा मिशन१ ले चन्द्रमाको कक्षमा सफलतापूर्वक पुगे पनि अवतरण प्रयास असफल भएको थियो।

“रेजिलिएन्स” ले १० चरणको सूचीबद्ध लक्ष्यहरू पूरा गर्दै चन्द्रमाको मेयर फ्रिगोरिस अर्थात् सी अफ कोल्डमा अवतरण गर्ने योजना बनाएको छ। अवतरणपछिको कार्यमा टेनासियस नामक माइक्रोरोभर परिचालन पनि सामेल छ। यो रोभरले नासासँगको सम्झौता अनुसार चन्द्रमाको धुलो (रेगोलिथ) को नमूना सङ्कलन गर्नेछ।
यी दुई निजी ल्यान्डर प्रक्षेपणहरूले चन्द्रमामा अध्ययन र अन्वेषणको नयाँ अध्याय सुरु गर्नेछन्। फायरफ्लाइ एरोस्पेस र आईस्पेसले आफ्ना मिशनहरू सफल बनाउन स्वचालन र नवीन प्रविधिहरूलाई उच्च प्राथमिकता दिएका स्पेस डटकमले उल्लेख गरेको छ।
प्रकाशित: २ माघ २०८१, बुधबार