३०० प्रतिशतसम्म मूल्यवृद्धि गर्ने दीर्घकालीन रणनीति तयार गर्दै आर्म होल्डिङ्स

Technology Khabar २ माघ २०८१, बुधबार

काठमाडौं ।

चिप निर्माण गर्ने कम्पनीहरूलाई प्राविधिक आपूर्ति गर्ने आर्म होल्डिङ्सले आफ्नो मूल्य ३०० प्रतिशतसम्म बढाउने दीर्घकालीन योजना विकास गरिरहेको छ। साथै आफ्ना ठूला ग्राहकहरूसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नै चिप डिजाइन गर्ने विषयमा पनि छलफल गरिरहेको छ।

ब्रिटिश कम्पनी आर्मले वर्षमा अर्बौं डलरको चिप बिक्रीको केन्द्रमा रहेर पनि दशकौंसम्म लो-प्रोफाइल रणनीति अपनाउँदै आएको थियो। यसले एप्पल, क्वालकम, माइक्रोसफ्टलगायत अन्य कम्पनीहरूलाई चिप डिजाइन गर्न आवश्यक बौद्धिक सम्पत्ति (आईपी) लाइसेन्स गरी सानो रोयल्टी शुल्क लिँदै आएको छ।

थोरै आम्दानी, तर ठूलो महत्व

रोयटर्सका अनुसार स्मार्टफोन र ऊर्जा कम खपत गर्ने डाटा सेन्टर चिपहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेले पनि आर्मको आम्दानी आफ्ना ग्राहकहरूको तुलनामा सानो छ।

आर्थिक वर्ष २०२४ मा यसको आम्दानी मात्र ३.२३ अर्ब डलर थियो। जबकि सबै आर्म-आधारित चिपहरूद्वारा सञ्चालित एप्पलको हार्डवेयर बिक्री आम्दानी आर्मको आम्दानीभन्दा ९० गुणा बढी थियो।

तर आर्मको प्रमुख कम्पनी सफ्टबैंक ग्रुपका सीईओ मासायोशी सोन र आर्मका सीईओ रेने हासले यो स्थिति बदल्ने योजना बनाइरहेका छन्। हालैको क्वालकमविरुद्धको मुद्दामा खुलासा भएको योजना अनुसार आर्मले आफ्नो रोयल्टी दर वृद्धि गर्ने प्रयास गरेको थियो।

‘पिकासो’ परियोजना

२०१९ देखि सुरु भएको ‘पिकासो’ परियोजनाले १० वर्षभित्र स्मार्टफोन सम्बन्धित आम्दानीमा वार्षिक १ अर्ब डलर वृद्धि गर्ने लक्ष्य राखेको छ। यो लक्ष्य आर्मको नयाँ कम्प्युटिङ आर्किटेक्चर आर्मभी९ को प्रयोग गरिएको चिपहरूको प्रति-चिप रोयल्टी दर बढाएर हासिल गर्ने योजना थियो।

२०१९ मा आर्मका कार्यकारीहरूले प्रति-चिप रोयल्टी दर ३०० प्रतिशत बढाउने योजना बनाएको दस्तावेज देखाइएको थियो। त्यसै वर्षको डिसेम्बरमा, तत्कालीन सीईओ साइमन सेगर्सले मासायोशी सोनलाई क्वालकमसँग ‘पिकासो’ परियोजनाअन्तर्गत प्रविधि प्रयोग गर्न सम्झौता भएको जानकारी दिएका थिए।

तर एप्पल र क्वालकम जस्ता ठूला ग्राहकहरूले आर्मको तयार-तयार प्रविधिको उपयोग नगरी आफ्नै डिजाइन तयार गर्न सक्ने भएकाले यी दर वृद्धिहरूमा उनीहरूलाई प्रभाव पर्न न सक्ने सम्भावना छ।

प्रकाशित: २ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया