सार्वजनिक सेवा प्रसारणको मूलभूत सिद्धान्त बमोजिम काम गर्न सञ्चार सचिव अर्यालको सुझाव

Technology Khabar १ माघ २०८१, मंगलवार

सार्वजनिक सेवा प्रसारणको मूलभूत सिद्धान्त बमोजिम काम गर्न सञ्चार सचिव अर्यालको सुझाव
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐनमा तोकिएको काम, कर्तव्य र अधिकार अनुसार प्राथमिकताका साथ काम गर्न निर्देशन दिएकी छिन्। उनले आज आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कायक्रममा सार्वजनिक सेवा प्रसारणको मुलभूत सिद्धान्त बमोजिम काम गर्नुपर्नेमा जोड दिएकी हुन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले सूचना प्रणालीलाई बलियो बनाउँदै सत्य र निष्पक्ष जानकारी प्रवर्द्धन गरी समाजलाई दिगो, न्यायसङ्गत र समावेशी बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “सूचनाले व्यक्तिलाई सशक्त, सही निर्णय गर्न सक्षम बनाउँछ र सूचना भनेको ज्ञानको संवाहक हो।”

उनले सूचना लोकतान्त्रिक मूल्य मान्यता र समाजको समृद्धिको आधारशिलासँग जोडिएको बताउँदै सत्य सूचनाले जनताको आधारभूत अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए।

सार्वजनिक सेवा प्रसारणले सूचनाको पहुँचलाई विश्वसनीय र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ। “सूचना–अधिकार, केवल कानुनी अधिकार होइन; यो एक मौलिक मानव अधिकार हो”, उपाध्यक्ष अधिकारीले भने। उनले  असमान सूचना प्रवाह वा पहुँचबाट समाजमा ठूलो प्रभाव पर्ने धारणा राखे।

७४ वर्षे इतिहास बोकेको रडियो नेपाल र ४० वर्षको इतिहास बोकेको नेपाल टेलिभिजनको आफ्नै महत्व रहेको बताउँदै उनले सार्वजनिक सेवा प्रसारण नेपालको मर्म अनुरुप काम गर्नुपर्ने बताए।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पीएसबी संस्था समृद्ध राष्ट्र निर्माणको संवाहक बन्ने बताए।

“रेडियो नेपाल र नेपाल टेलिभिजनले मुलुकको समृद्धि, कला संस्कृतिको प्रवर्द्धनमा महत्त्वपुर्ण योगदान पु-याउँदै आएको छ, रेडियो र टिभीलाई नयाँ स्वरुपमा परिवर्तन गर्दै दुवै संस्थाको अस्तित्वलाई थप बलियो बनाइने छ”, उनले भने।

रेडियो नेपाल र नेपाल टेलिभिजनबीच एकीकरण गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने गरी सावर्जनिक सेवा प्रसारण सेवासम्बन्धी ऐन, २०८१ असोज २२ गते प्रमाणिकरण भई त्यसको ३१औँ दिन अर्थात् २०८१ कात्तिक ३० गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आएको छ।-रासस

प्रकाशित: १ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया