Technology Khabar १ माघ २०८१, मंगलवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताएका हुन्।
उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको जानकारी दिए। उनले नीति तथा रणनीति पारित भएपछि एआईको प्रयोग बढ्ने बताए।
उनले सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको औंल्याए।
‘‘हिजो अस्तिको अध्यादेशमा पनि आएको छ। त्यो सुशासन कसरी कायम गर्ने भनेर। नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ। नागरिक एप गाइड गर्ने कुनै कानून नै भएन हामीसँग। सुशासनमा यत्ति महत्त्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ। एआई र इगभर्नेन्सको विषयसँग जोडिएको विषय छ।,’’
मन्त्री गुरुङले अगाडि भने, ‘‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन। पोलिसी बनाएका छौँ हामीले। पोलिसी र स्ट्राटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एसियामै सबैभन्दा पछाडि छौँ ।’’
मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: १ माघ २०८१, मंगलवार