टीएसमएसीले एरिजोनामा शुरु गर्यो ४ एनएम चिप उत्पादन

Technology Khabar २९ पुष २०८१, सोमबार

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले अमेरिकी ग्राहकहरूका लागि एरिजोनामा चार-नानोमिटरको उन्नत चिप उत्पादन सुरु गरेको अमेरिकी वाणिज्य सचिव जिना राइमोन्डोले रोयटर्सलाई बताएकी छिन्। यो बाइडेन प्रशासनको सेमिकन्डक्टर प्रयासहरूको लागि एक महत्त्वपूर्ण उपलब्धि हो।

गत वर्षको नोभेम्बरमा वाणिज्य विभागले एरिजोनाको फिनिक्समा टीएसएमसीको अमेरिकी इकाइका लागि ६.६ अर्ब डलर अनुदान अन्तिम रूप दिएको थियो। “हाम्रो देशको इतिहासमा पहिलोपटक हामीले अमेरिकी जमिनमा, अमेरिकी कामदारहरूको मेहनतबाट, चार-नानोमिटर चिप उत्पादन गरिरहेका छौं, जसको उत्पादन क्षमता र गुणस्तर ताइवान बराबरकै छ,” राइमोन्डोले रोयटर्ससँगको अन्तर्वार्तामा भनिन्।

“यो ठूलो कुरा हो—यसअघि कहिल्यै यस्तो भएको थिएन। धेरैले यो सम्भव छैन भनेका थिए,” राइमोन्डोले यसअघि सार्वजनिक नभएको उत्पादन सुरुबारे बताउँदै भनिन्।

यसबारे टीएसएमसीका प्रवक्ताले भने शुक्रबार प्रतिक्रिया दिन अस्वीकार गरेका थिए। टीएसएमसी विश्वकै सबैभन्दा ठूलो चिप निर्माता हो र यसले एप्पल तथा एनभिडियाजस्ता प्रमुख कम्पनीहरूलाई आपूर्ति गर्दछ।

अप्रिलमा टीएसएमसीले आफ्नो योजनाबद्ध लगानी २५ अर्ब डलरले बढाएर ६५ अर्ब डलर पुर्‍याउने र २०३० सम्म तेस्रो एरिजोना उत्पादन केन्द्र थप्ने सहमति जनाएको थियो।

२०२२ मा कांग्रेसले ५२.७ अर्ब डलरको सेमिकन्डक्टर उत्पादन र अनुसन्धान अनुदान कार्यक्रम सुरु गरेको थियो। वाणिज्य विभागले पाँचवटा प्रमुख सेमिकन्डक्टर कम्पनीहरूलाई अमेरिका भित्र उत्पादन केन्द्र स्थापना गर्न राजी गराएको थियो।
“यो आफैं भएको थिएन… हामीले टीएसएमसीलाई आफ्नो अमेरिकी योजना विस्तार गर्न राजी गराउनु पर्‍यो,” राइमोन्डोले भनिन्। टीएसएमसीलाई वाणिज्य विभागबाट ५ अर्ब डलरसम्मको कम लागतको सरकारी ऋण पनि दिइएको छ।

राइमोन्डोले २०३० सम्ममा विश्वका सबैभन्दा उन्नत चिपहरूको २० प्रचतिशत उत्पादन अमेरिकामा गर्न चाहेको बताएकी छिन्—जो टीएसएमसीले एरिजोनामा उत्पादन सुरु गर्नुअघि ० प्रतिशत थियो।

अप्रिलमा, वाणिज्य विभागले टीएसएमसीको पहिलो अमेरिकी उत्पादन केन्द्रले २०२५ को पहिलो छ महिनाभित्र उच्च उत्पादन सुरु गर्ने अपेक्षा गरिएको बताएको थियो।

गत महिना, वाणिज्य विभागले ४०७ मिलियन डलर अनुदान अन्तिम रूप दिएको थियो जसले अम्कोर टेक्नोलोजीको २ अर्ब डलरको उन्नत सेमिकन्डक्टर प्याकेजिङ सुविधा निर्माणमा सहयोग गर्नेछ। यो एरिजोनामा हुनेछ र अमेरिकाभित्रकै सबैभन्दा ठूलो हुने बताइएको छ।

रोयटर्सका अनुसार पूर्णरूपमा सञ्चालनमा आएपछि अम्कोरको एरिजोना उत्पादन केन्द्रले स्वचालित गाडीहरू, ५जी/६जी र डेटा सेन्टरहरूका लागि लाखौं चिप प्याकेज र परीक्षण गर्नेछ। नजिकैको टीएसएमसी केन्द्रमा उत्पादन हुने चिपहरूको लागि एप्पल यसको पहिलो र सबैभन्दा ठूलो ग्राहक हुनेछ।

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया