Technology Khabar २८ पुष २०८१, आईतवार
काठमाडौं ।
वर्डक्याम्प नेपाल २०२५ यही अप्रिल ४ र ५ मा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबारमा आयोजना हुने भएको छ। वर्डप्रेस तथा समग्र सूचना-प्रविधिमा रुचि राख्ने नयाँ र अनुभवी दुवैका लागि यो कार्यक्रम एउटा ठूलो अवसर हुनेगरी आयोजना हुँदै गरेको आयोजकले उल्लेख गरेको छ।
यस वर्षको वर्डक्याम्प नेपाल ‘जोडिनुहोस्, योगदान दिनुहोस्, र उत्सव मनाउनुहोस्’ भन्ने नारासहित आयोजना हुँदैछ। कार्यक्रममा वर्डप्रेस सम्बन्धी नयाँ जानकारी, प्लगइन र उत्पादनहरूका प्रदर्शन, र विभिन्न कार्यशालाहरूको आयोजना हुनेछ।
कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपेली मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रबाट स्वदेशी तथा विदेशी सहभागीहरु उपस्थित हुनेछन्।
कार्यक्रमका मुख्य विशेषताहरू:
१. कन्ट्रिब्युटर डे (अप्रिल ४ ):
कार्यक्रमको पहिलो दिन वर्डप्रेसको ओपन-सोर्स प्रोजेक्टमा सहभागी हुने अवसर प्रदान गरिनेछ। सहभागीहरूले वर्डप्रेसमा आफ्नो रुची रहेको क्षेत्रमा योगदान गर्न, नयाँ कुरा सिक्न, र समुदायसँग जोडिन सक्नेछन्। यो दिन टिम लीडरले वर्डप्रेसमा थिम र प्लगइन अनुमोदन प्रक्रिया, यसको मापदण्डहरू, र दिशानिर्देशहरूबारे मार्गदर्शन गर्नेछन्।

यस दिन वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैर-प्रोग्रामर दुवै खालको योगदानहरु कसरी गर्न सकिन्छ भन्नेबारे सिक्न र बुझ्न सकिन्छ।
२. कन्फरेन्स डे (अप्रिल ५ ):
यो दिन वर्डप्रेसका विभिन्न विषयमा आधारित सत्रहरू आयोजना हुनेछ। वर्डप्रेस विशेषज्ञहरूसँग भेटघाट गर्ने, नयाँ विचारहरू सिक्ने, र आफ्नो करियरलाई अगाडि बढाउन चाहनेहरूका लागि यो उपयुक्त अवसर हो। यसैदिन वर्डप्रेस वर्कशपको पनि तयारी हुँदै छ। जसमा कुनै विषय वस्तुलाई आधार मानेर वर्डप्रेसमा त्यस सम्वन्धित वेभसाइट तयार गरिने आयोजकले उल्लेख गरेको छ ।
कसका लागि उपयुक्त?
कार्यक्रममा डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च-इन्जिन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थी लगायत सबै वर्डप्रेसप्रेमीहरूले भाग लिन सक्नेछन्।
किन सहभागी हुने?
वर्डक्याम्प नेपाल २०२५ वर्डप्रेस समुदायलाई एकै ठाउँमा ल्याउने ठूलो कार्यक्रम हो। वर्डप्रेसमा आफ्नो भविष्य बनाउन चाहने र यसमा योगदान दिन चाहने सबैका लागि यो कार्यक्रम महत्वपूर्ण छ।
उक्त सम्मेलनमा सहभागिताको लागि चाँडै नै अनलाइन रजिस्ट्रेसन खुला हुने बताइएको छ।
प्रकाशित: २८ पुष २०८१, आईतवार