Technology Khabar २८ पुष २०८१, आईतवार
काठमाडौं ।
अमेरिकी प्रविधि उद्यमी इलन मस्क र युरोपेली सङ्घ (इयू) का पूर्व डिजिटल प्रमुख थियरी ब्रेटनबीचको विवाद थप चर्किएको छ।
शनिबार भावी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीका रूपमा हेरिएका टेक व्यवसायी लामो समयदेखि डिजिटल स्पेसलाई नियमन गर्ने इयूको नियमहरूको आलोचना गर्दै ब्रसेल्सलाई ‘सेन्सरशिप’ को लागि आरोप लगाउँदै आएका छन्।
यसै साता मेटाका प्रमुख मार्क जुकरबर्गले पनि उक्त बिषयमा आरोप लगाएका थिए।
मस्कले हालै महाद्वीपका नेताहरूको बारम्बार अपमान र अर्को महिना हुने चुनावअघि अति दक्षिणपन्थी जर्मन एएफडी पार्टीलाई खुला समर्थन गरेर युरोपलाइ चिढ्याएका थिए।
ब्रेटनले चुनावमा हस्तक्षेप नहोस् भनेर युरोपले कदम चाल्न सक्ने बताएपछि ब्रेटनविरुद्ध उनको पछिल्लो आक्रोश आएको हो।
फ्रान्सेली प्रसारक बीएफएमटिभी/आरएमसीसँग ब्रेटनले दिएको अन्तर्वार्ताको एक अंश सेयर गर्दै उनले भनेका छन, “ईयूसँग एएफडीको सम्भावित चुनावी विजयलाई रद्द गर्ने संयन्त्र छ।”
ब्रेटनले एक्समा गरेको पोस्टमा उक्त दाबीलाई खण्डन गरेका थिए। उनले भने, “यूरोपका तानाशाह? वाह! तर इलन मस्कः इयूमा कुनै पनि चुनाव रद्द गर्न इयूसँग कुनै संयन्त्र छैन। तलको भिडियोमा के भनिएको छ त्यो केवल डीएसएको आवेदन र यसको मोडरेशन दायित्वहरुसँग सम्बन्धित छैन।”
ईयूको ऐतिहासिक डिजिटल सेवा ऐन (डीएसए) ले प्लेटफर्महरूलाई अनलाइन अवैध सामग्रीमा कडाई गर्न माग गरेको छ।
बिहीबारको अन्तर्वार्तामा ब्रेटनले भने, ‘युरोपले हाम्रो शान्त भई युरोपमा हाम्रा कानुनहरू लागू गर्नुपर्दछ। यदि यसो भएन भने वा लागू गरिएनन् भने हस्तक्षेप हुन सक्छ।”
“हामीले जे रोमानियामा गरेका थियौं र यदि आवश्यक छ भने पक्कै पनि जर्मनीमा पनि हामीले यो गर्नुपर्नेछ,” उनले भने।
रोमानियाको राष्ट्रपतीय निर्वाचनको परिणामलाई प्रभावित पार्न रुसले टिकटकको प्रयोग गरेको आरोप लागेपछि युरोपेली सङ्घले गत महिना डीएसए अन्तर्गत टिकटकमाथि अनुसन्धान सुरु गरेको थियो।
युरोपेली नियामकहरूले पनि सन् २०२३ डिसेम्बरदेखि एक्सको अनुसन्धान गरिरहेका छन्। मस्कको ट्रम्पसँगको घनिष्ठ सम्बन्धबीच उनको प्लेटफर्म र यसको संदिग्ध डीएसए उल्लङ्घनलाई कसरी व्यवस्थापन गर्नेछ भन्ने बारेमा इयूले प्रश्न उठाएको छ। रासस/एएफपी
प्रकाशित: २८ पुष २०८१, आईतवार