एआई फर अल कन्फ्रेन्स- ‘हाइकन’ सम्मेलन आजसम्म

Technology Khabar २४ पुष २०८१, बुधबार

एआई फर अल कन्फ्रेन्स- ‘हाइकन’ सम्मेलन आजसम्म
फ्रीपिकका माध्यमबाट तयार पारिएको

काठमाडौं ।

हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) सम्मेलन, २०२५ मंगलबारदेखि सुरू भएको छ। ‘हेल्थ एआई फर अल नेटवर्क (हाइनेट)’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सुरु भएको सम्मेलन आजसम्म चल्ने बताइएको छ।

आयोजकमध्येका एक डा किरणराज पाण्डेले विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआइका माध्यमबाट समाधान गर्ने उद्देश्यले विस्तृत छलफल गर्न सम्मेलनको आयोजना गरिएको बताए। उनले भने, “स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषय सम्मेलनमा छलफल हुँदैछ।”

सम्मेलनमा हाइनेटको संस्थापक सदस्य डा विशेष खनाल विकासोन्मुख देश स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभई उत्पादक पनि हुने सम्भावनाको प्रवर्द्धन गर्न यो नेटवर्कले काम गर्ने बताए।

Created through Freepik
फ्रीपिकका माध्यमबाट तयार पारिएको

सम्मेलनमा एबर्डिन विश्वविद्यालयका सहप्राध्यापक विनोद भट्टराई पछिल्लो समय विकसित देशमा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग व्यापक भइरहेको बताए। उनले भने, “यो संस्थालाई संसारभरका अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी र यस क्षेत्रमा संलग्न व्यक्ति र बिरामीलाई एआईको प्रयोग र अभ्यास गर्ने प्लेटफर्म बनाउने उद्देश्य राखेको छौँ।”

सम्मेलनमा स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो रहेको छ र नेपाल र नेपालजस्तो देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल हुनेछ।

त्यसैगरी सम्मेलनमा विभिन्न देशका विज्ञहरूले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा एशिया, अफ्रिका उत्तर तथा दक्षिण अमेरिकाबाट विज्ञ तथा वक्ताहरू सहभागी रहेका छन्।-रासस

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया