ईभी ब्याट्रीको आपूर्ति श्रृङ्खलामा चीनको निर्भरता हटाउनु मुख्य उद्देश्य: पानासोनिक एनर्जी

Technology Khabar २४ पुष २०८१, बुधबार

काठमाडौं ।

टेस्लाको आपूर्तिकर्ता पानासोनिक एनर्जीले संयुक्त राज्य अमेरिकामा बनाइने इलेक्ट्रिक गाडीका ब्याट्रीहरूको आपूर्ति शृंखलामा चीनमा निर्भरता हटाउने योजना बनाएको छ। यसलाई कम्पनीको “नम्बर १ उद्देश्य” भनेर एक वरिष्ठ कार्यकारीले बताएका छन्।

उत्तर अमेरिकाको पानासोनिक एनर्जीका अध्यक्ष एलन स्वानका अनुसार नव-निर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा आयात शुल्क बढाउने प्रतिबद्धता गरेपछि विश्वभरका कम्पनीहरूले आफ्नो उत्पादन प्रक्रियाको पुनरावलोकन गर्न बाध्य भएका छन्।

टेस्ला र अन्य अटोमेकरहरूलाई ब्याट्री आपूर्ति गर्ने पानासोनिक एनर्जी जापानी इलेक्ट्रोनिक्स कम्पनी पानासोनिकको एउटा इकाई हो।

रोयटर्सक अनुसार ट्रम्पले विश्वव्यापी आयातमा १० प्रतिशत र चिनियाँ सामानमा ६० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। नोभेम्बरमा उनले विशेषगरी क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने प्रतिज्ञा गरेका थिए।

“ट्रम्पको योजनासँग सम्बन्धित पहिलो कुरा भनेको चीनमा समर्पित आपूर्ति शृंखला नहुनु हो,” स्वान सोमबार लस भेगसमा सीईएस ट्रेड शोमा दिएको अन्तर्वार्तामा भने। “हामीसँग केही चिनियाँ आपूर्ति छ, तर धेरै छैन,” उनले थपे। “हामीले अगाडि बढ्दै गर्दा केही पनि नराख्ने योजना बनाएका छौं, र यो प्रक्रिया तीव्र भएको छ।”

पानासोनिक एनर्जीका अमेरिका-निर्मित ब्याट्रीका कच्चा पदार्थहरूको ठूलो हिस्सा क्यानाडा जस्ता विदेशी आपूर्तिकर्ताहरूबाट आउँने स्वानले बताए।

द वाशिङ्टन पोस्टले सोमबार रिपोर्ट गरे अनुसार ट्रम्पका सहयोगीहरूले महत्त्वपूर्ण आयातमा सीमित शुल्क योजना अन्वेषण गरिरहेका छन् जसलाई पछि ट्रम्पले अस्वीकार गरेका थिए।

संयुक्त राज्य अमेरिकामा पानासोनिक एनर्जीले नेभाडामा एउटा कारखाना सञ्चालन गर्छ र यो वर्ष कन्सासमा दोस्रो प्लान्ट खोल्ने योजना बनाएको छ।

“हाम्रो तीन चरणको रणनीति आपूर्ति शृंखला परिमार्जनमा केन्द्रित छ,” स्वानले भने।

कम्पनीले अमेरिकी आपूर्तिकर्ताहरूको अनुबंध मात्र गरिरहेको छैन, तर जापानी र कोरियाली आपूर्तिकर्ताहरूलाई अमेरिकामा सञ्चालन स्थापना गर्न पनि सहयोग गरिरहेको छ। साथै, अमेरिका भित्रै सञ्चालन गर्ने योजना बनाइरहेका आपूर्तिकर्ताहरूलाई पनि जोड दिइरहेको छ।

निसान जस्ता अटोमेकरहरूले मेक्सिकोबाट अमेरिकी बजारमा हुने आयातमा शुल्कको सम्भावित प्रभावबारे संकेत गरेका छन्। मेक्सिको कम लागत उत्पादन र निर्यातको केन्द्र हो। गह्रुङ्गा मेसिन निर्माता कोमात्सुले गएको महिनामा सम्भावित अमेरिका-क्यानडा व्यापार युद्धले आफ्नो खानी उपकरण व्यवसायमा “दोब्बर झटका” दिने बताएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया