Technology Khabar २३ पुष २०८१, मंगलवार
काठमाडौं ।
इटालीले ईलन मस्कको स्पेसएक्ससँग १.५ अर्ब युरो (१.५५ अर्ब डलर) को सम्झौताका लागि वार्ता गरिरहेको छ। यसअन्तर्गत सरकारले सुरक्षित दूरसञ्चार सेवाहरू प्राप्त गर्ने ब्लूमबर्ग न्यूजले आइतबार रिपोर्ट गरेको छ।
पाँचवर्षीय यो परियोजनामा अन्तिम सम्झौता अझै बाँकी रहे पनि इटालीका गुप्तचर सेवाहरू र रक्षा मन्त्रालयले यसलाई अनुमोदन गरिसकेको स्रोतहरूको हवाला दिँदै रिपोर्टमा उल्लेख गरिएको छ।
स्पेसएक्स र इटालीको रक्षा मन्त्रालयले नियमित कार्यालय समय बाहिर टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्। यो सम्झौतामा स्पेसएक्सले इटाली सरकारलाई टेलिफोन र इन्टरनेट सेवाहरूको पूर्ण एन्क्रिप्शन प्रणाली उपलब्ध गराउने कुरा समेटिएको छ।
यसमा इटालीको सेनालाई भूमध्य सागर क्षेत्रमा सञ्चार सेवा प्रदान गर्ने र आतंकवादी आक्रमण वा प्राकृतिक प्रकोपजस्ता आपतकालीन अवस्थामा प्रयोग गर्न उपयुक्त स्याटेलाइट सेवा विस्तार गर्ने योजना पनि सामेल छ।
इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले आइतबार अमेरिकी राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पसँग फ्लोरिडाको मार-ए-लागो निवासमा भेट गरेपछि यो समाचार आएको हो। उनी ट्रम्पको जनवरी २० मा हुने उद्घाटनअघि सहकार्य गर्न तयार रहेको बताएकी थिइन्।
रोयटर्सका अनुसार मेलोनीले अरबपति टेक सीईओ एलन मस्कसँग नजिकको सम्बन्ध पनि बनाएकी छिन्। मस्क ट्रम्पका घनिष्ठ समर्थक हुन्।
रोयटर्सले गत महिना रिपोर्ट गरेअनुसार इटालीले जनवरीदेखि मस्कको स्टारलिंकद्वारा प्रदान गरिने स्याटेलाइटमा आधारित इन्टरनेट सेवा परीक्षण गर्ने योजना बनाएको छ जसले देशमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न मद्दत गर्न सक्छ।
प्रकाशित: २३ पुष २०८१, मंगलवार