Technology Khabar २२ पुष २०८१, सोमबार
काठमाडौं ।
दक्षिण कोरियाली ईलेक्ट्रोनिक्स जायन्ट सामसङले आफ्ना फोन र ट्याब्लेटहरूमा उपलब्ध एक लोकप्रिय सुविधालाई अब टीभीहरूमा ल्याउने घोषणा गरेको छ।
लाईभ ट्रान्सलेट नामको यो सुविधा प्रयोगकर्ताहरूलाई प्रत्यक्ष प्रसारणहरूको रियल टाइम ट्रान्सलेशन अर्थात् प्रसारण भइरहेकै बेला तुरुन्तै अनुवादको सुविधा प्रदान गर्दछ। टेकक्रञ्चका अनुसार यो सुविधाले सात विभिन्न भाषामा काम गर्दछ तर कुन भाषाहरू हुन् भन्ने स्पष्ट गरिएको छैन। हाल यो प्रणालीले प्रसारणको अडियो सुन्नुको सट्टा क्लोज्ड क्याप्शनहरूलाई अनुवाद गर्छ।
लाईभ ट्रान्सलेट पहिलो पटक सन् २०२४ को सुरुवातमा ग्यालेक्सी एस२४ को लन्चसँगै प्रस्तुत गरिएको थियो। यो सुविधाले फोनमा १३ विभिन्न भाषाहरूमा काम गर्दछ, जुन टीभी संस्करणको तुलनामा करिब दोब्बर हो।
सामसङले आफ्ना टीभीहरूमा एआईमा आधारित भ्वाइस रिमुभल विद अडियो सबटाइटल्स नामको अर्को नयाँ सुविधा पनि थपिरहेको छ। यो सुविधा विशेषगरी दृष्टिविहीन समुदायलाई लक्षित गरिएको हो। सामसङका अनुसार यो सुविधाले “सबटाइटलहरूको विश्लेषण गर्ने, आवाज अलग गर्ने र पढ्ने गतिलाई समायोजन गर्ने” गरी एउटा सहज अनुभव प्रदान गर्नेछ।
टेकक्रञ्चका अनुसार यी दुवै सुविधा सामसङको २०२५ टीभी लाइनअपका लागि उपलब्ध हुनेछन्। तर पुराना सेटहरूका लागि ब्याकवार्ड कम्प्याटिबिलिटी अर्थात् पुराना भर्जनहरुमा पनि सफ्टवेयर वा अपडेट काम गर्न सक्ने सुविधा प्रदान गरिने हो वा होइन भन्ने विषयमा कुनै जानकारी दिइएको छैन।
प्रकाशित: २२ पुष २०८१, सोमबार