वालेट तथा वित्तीय संस्थाको नाममा प्रलोभनमा पारेर ठग्नेहरुबाट सचेत हुन सीआईबीको आग्रह

  • Technology Khabar | १९ पुष २०८१, शुक्रबार
वालेट तथा वित्तीय संस्थाको नाममा प्रलोभनमा पारेर ठग्नेहरुबाट सचेत हुन सीआईबीको आग्रह

काठमाडौं ।

“केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिन यता विभिन्न सामाजिक संजालहरु, डिजिटल वालेट तथा बैंक/वित्तीय संस्थाबाट बोलेको भनी प्रलोभनमा पारी ठगी हुने गरेको भन्दै सचेत हुन आग्रह गरेको छ।

ब्यूरोले सामाजिक संजालहरु जस्तै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, ईमो लगायतका सोशल प्लेटफर्म तथा ई-सेवा, खल्ति, जस्ता वालेट तथा बैंक/बित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरुबाट फोन गरी वा म्यासेज गरी सरकारी कर्मचारीहरु तथा आम सर्व-साधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाहरुप्रति यस ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता प्रकृतिका अनलाईन ठगीहरुबाट बच्न तोकिएका कार्यहरु नगर्न सीआईबीले सबैलाई अनुरोध गरेको छ।

१. ई-सेवा, खल्ति जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने।

२. ई-सेवा, खल्ति लगायत डिजिटल वालेटमा पटक-पटक गलत पासवर्ड राखेर वालेट टेम्पोररी क्लोज गर्ने र त्यही समय वालेट प्रयोग कर्तालाई कल गरी तपाईको वालेटमा समस्या आएको छ ? म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी. माग गर्ने र क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य ब्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने।

३. सामाजिक संजालमा बिभिन्न खालका प्रलोभनमा पार्ने मेसेजहरु पठाउने र बिभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्सले सिर्जना गरेको आवाजबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने बित्तिकै यूजरनेम र पासवर्डमा पहुँच पुऱ्याई पैसा ट्रान्सफर गर्ने।

४. अनलाईन व्यापारको नाममा सामाजिक संजालमा बिभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसके पछि सामान डेलिभरि नगरी सम्पर्क बिहिन भई ठगी गर्ने।

यसैगरी हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा सीआईबीले अनुसन्धान गरिरहेको जानकारी समेत दिएको छ।

यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी संदिग्ध फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न समेत अनुरोध गरेको छ।

सीआईबीले यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरुको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...