सन् २०२४ मा बिटक्वाइनको मूल्य झण्डै दोब्बर भयो: यस्ता थिए कारण

Technology Khabar १९ पुष २०८१, शुक्रबार

काठमाडौं ।

बिटक्वाइनको मूल्य सन् २०२४ मा दोब्बरभन्दा बढीले वृद्धि भयो। यसको मुख्य कारण अमेरिकी बजार नियामकले बिटक्वाइनको वास्तविक मूल्यलाई ट्र्याक गर्ने एक्सचेन्ज-ट्रेडेड फन्डहरू (ईटीएफ) लाई स्वीकृति दिनु र डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउसमा फर्कने सम्भावनासँगै नियामक अवरोधहरू कम हुने आशा रहेको आकलन छ।

यस महिनाको सुरूमा  संसारकै ठूलो र सबैभन्दा चिनिएको क्रिप्टोकरेन्सी बिटक्वाइनले १ लाख डलरको ऐतिहासिक मूल्य छुन सफल भयो। यो उपलब्धिले यो नयाँ वर्गको सम्पत्तिका समर्थकहरूमा ठूलो उत्साह थपेको छ।

यस वर्ष बिटक्वाइनमा १२० प्रतिशतभन्दा बढीको वृद्धि र दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरमा लगभग ५० प्रतिशतको वृद्धिले क्रिप्टो क्षेत्रको कुल बजार मूल्यलाई लगभग ३.५ ट्रिलियन डलर पुर्‍याएको छ कोइनगेकोको तथ्यांकले देखाएको छ।

विश्लेषकहरूका अनुसार यो वर्ष अर्थात् सन् २०२५ मा यसको मूल्य अझ धेरै वृद्धि हुने अपेक्षा गरिएको छ। “१ लाख डलर अन्तिम उपलब्धि नभएकोमा हामी विश्वस्त छौं। हामी २०२५ को अन्त्यसम्म बिटक्वाइन २ लाख डलरको चक्रीय-उच्च मूल्यमा पुग्ने अपेक्षा गर्छौं,” ब्रोकरेज बर्नस्टीनका विश्लेषकहरूले यस महिनाको सुरूमा ग्राहक नोटमा लेखेका छन्।

बर्नस्टीनको नोटमा थप उल्लेख छ, “बिटक्वाइन नयाँ युगको प्रमुख ‘मूल्य सञ्चय गर्ने’ सम्पत्तिका रूपमा उदाउनेछ, जसले अर्को दशकमा सुनलाई प्रतिस्थापन गर्नेछ भन्ने हाम्रो अपेक्षा छ। यसले संस्थागत बहु-सम्पत्ति रणनीतिमा स्थायी रूपमा सामेल हुने र कर्पोरेट ट्रेजरी व्यवस्थापनको मापदण्ड बन्नेछ।”

रोयटर्सका अनुसार यो आशा धेरै हदसम्म अमेरिकी प्रतिभूति र विनिमय आयोग एसईसीले पहिलो पटक बिटक्वाइनको वास्तविक मूल्यलाई ट्र्याक गर्ने ईटीएफलाई स्वीकृति दिएपछि गत जनवरीमा सुरु भएको थियो। यसले व्यापक क्रिप्टो उद्योगका लागि एक महत्वपूर्ण क्षणलाई इंगितसमेत गर्यो।

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया