
काठमाडौं ।
साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ। उनी ९४ बर्षका थिए।
कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेको छ।
सफल व्यवसायीको चार दशक लामो नेतृत्वपछि सन् २०२१ मा अवकास लिनुभएका सुजुकीको कार्यकालमा कम्पनीको बिक्री १० गुणाभन्दा बढीले वृद्धि भएको थियो ।
सन् १९३० जनवरी ३० मा मध्य जापानी क्षेत्र गिफुमा जन्मिएका उनले फर्मको संस्थापकको परिवारमा विवाह गरेका थिए भने, पछि सन् १९७८ मा यसको अध्यक्ष बनेका थिए।
आफूलाई ‘सानो व्यवसायमा बूढो मानिस’ भन्न रूचाउने उनले हल्का वजनको ‘केई’ सवारी साधनहरू निर्माण गर्नमा ध्यान केन्द्रित गरे। ती सवारी साधनमध्ये धेरै उनीहरूको ईन्धन दक्षता र चलाउनका लागि सजिलो भएका कारण प्रसिद्ध थिए ।
उनले आफ्नो व्यवसाय विस्तार गर्न सक्रिय रूपमा अन्तर्राष्ट्रिय साझेदार र अवसरहरूको खोजी गरेका थिए। कार निर्माता कम्पनी सुजुकीले कुनै समय जनरल मोटर्स र फक्सवागनसँग सहकार्यका लागि सम्झौता गरेको थियो र सन् २०१९ मा टोयोटासँग पनि पूंजी परिचालनसम्बन्धी गठबन्धन गरेको थियो।
उनले भारतमा सुजुकीको उत्पादनलाई विस्तार गरेका थिए। भारतमा कम्पनीको भारतीय शाखाबाट उत्पादित कारको बजारको अवस्था अहिले शीर्ष स्थितिमा रहेको छ।
सन् २०२१ मा सुजुकीले कम्पनीको अध्यक्ष पदबाट अवकाश लिँदा कम्पनीको बिक्री ३.१८ ट्रिलियन येन (२० अर्ब अमेरिकी डलर) पुगेको थियो ।
निक्केई शिम्बुन आर्थिक दैनिकका अनुसार सन् १९७८ मा उनले कम्पनीको कार्यभार सम्हाल्दा कम्पनीको बिक्री ३२३ अर्ब येन थियो । रासस/एएफपी
प्रकाशित: १२ पुष २०८१, शुक्रबार