Technology Khabar १० पुष २०८१, बुधबार
काठमाडौं ।
चीनको सीएटीएल विश्वकै ठूलो विद्युतीय सवारी ब्याट्री निर्माताका रुपमा चिनिएको चीनको सीएटीएलले मंगलबार एउटा नयाँ ईभी च्यासी सार्वजनिक गरेको छ। यसलाई कम्पनीले सुरक्षा प्रमुख बिक्री बिन्दुको रूपमा प्रचार गर्दै, १२० किमी प्रतिघण्टाको अगाडिको प्रभाव सहनसक्ने र आगो वा विस्फोट नहुने दावी गरेको छ।
कम्पनीका अनुसार यस च्यासीमा रहेको ब्याट्री एकपटकको चार्जमा करिब १,००० किलोमिटर (६२१ माइल) सम्म चल्न सक्षम छ। सीएटीएलका अनुसार, यो प्लेटफर्मले सवारी साधनको ठूलो उत्पादनको समय ३६ महिनादेखि १२-१८ महिनामा घटाउँछ।
चिनियाँ भाषामा “पान्शी” (जसको अर्थ “बेडरक” हुन्छ) भनिने यो नयाँ ईभी प्लेटफर्म कम्पनीले विकास तीव्र बनाउन र लागत घटाउन खोजिरहेका उच्च श्रेणीका कार निर्माताहरूलाई बेच्न चाहेको रोयटर्सले उल्लेख गरेको छ।
सीएटीएलका प्रमुख निर्माण अधिकृत नी जुनले भने, “अत्यन्तै उच्च गति र तीव्रताको प्रभावका कारण अहिलेसम्म कुनै पनि नयाँ ऊर्जा सवारी साधनले १२० किमी प्रतिघण्टाको अगाडि पोल प्रभाव परीक्षण गर्न साहस गरेको थिएन।”
सामान्यतया चीनको न्यू कार एसेस्मेन्ट प्रोग्राम सीएनसीएपी (C-NCAP) मा अगाडिको प्रभाव परीक्षणको गति ५६ किमी प्रतिघण्टा मात्र हुन्छ।
पहिलो प्रयोगकर्ता अवात्र ब्रान्ड
सीएटीएल, राज्य-नियन्त्रित चांगआन अटो, र प्रविधि कम्पनी ह्वावेको स्वामित्वमा रहेको चिनियाँ ईभी ब्रान्ड अवात्रले “पान्शी” च्यासिसमा आधारित पहिलो ईभी मोडेल विकास गर्नेछ। अवात्रका अध्यक्ष चेन झाओले यस विषयमा कुनै समयसीमा खुलासा गरेनन्।
रोयटर्सका अनुसार यो ईभी प्लेटफर्मलाई उद्योगमा “स्केटबोर्ड च्यासिस” भनेर चिनिन्छ। यसले विद्युतीय मोटर, ब्याट्री, नियन्त्रण प्रणाली, र निलम्बन प्रणालीलाई एउटै संरचनामा संयोजन गर्दछ।
सस्तो ईभी विकासको सम्भावना
सीएटीएलका अध्यक्ष जेंगले नोभेम्बरमा रोयटर्ससँग पान्शी परियोजना सार्वजनिक गर्दै, यसले नयाँ ईभीको विकास लागतलाई अर्बौं डलरबाट मात्र १० मिलियन डलरमा झार्न सक्ने र १०,००० कार मात्र बिक्री गरेर पनि सानो ईभी कम्पनीलाई नाफामा पुर्याउन सक्ने बताएका थिए।
यसले स्थापित अटोमोबाइल उद्योग नभएका अर्थतन्त्रहरूमा नयाँ ईभी खेलाडीहरूको प्रवेशलाई समेत सहज बनाउन सक्छ। सीएटीएलले यो प्रविधि पोर्श र संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई देखाएको जानकारी दिएको थियो।
सीएटीएलले २०२० देखि ब्याट्री च्यासिससँग प्रत्यक्ष रूपमा एकीकृत गर्ने ईभी प्लेटफर्महरू विकास गर्दै आएको छ र विगत दुई वर्षमा विनफास्ट, बीएआईसी र नीटाजस्ता अटो निर्माता कम्पनीहरूसँग साझेदारी गर्दै मोडेलहरू विकास गरिरहेको छ।
प्रकाशित: १० पुष २०८१, बुधबार