जापानी अटो दिग्गज होन्डा र निसानले विलय वार्ता सुरु गर्ने

Technology Khabar ९ पुष २०८१, मंगलवार

काठमाडौं ।

जापानी अटो दिग्गज होन्डा र यसको सङ्घर्षरत प्रतिद्वन्द्वी निसानले सोमबार चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न विलय वार्ता सुरु गर्न सहमति जनाएका छन्।

उनीहरूको सहकार्यले विश्वको तेस्रो ठूलो अटोमेकर सिर्जना गर्नेछ, जसले विद्युतीय सवारी र स्व–चालक प्रविधिको विकासलाई विस्तार गर्नेछ।

तर होन्डाका सिइओले निसानका लागि यो बेलआउट नभएको जोड दिए। उनले गत महिना हजारौँ रोजगारी कटौती र पहिलो अर्धवार्षिक खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको घोषणा गरेका थिए।

“यो उद्धार होइन”, विलयको एक शर्त निसानले आफ्नो तथाकथित ‘टर्नअराउन्ड’ योजना पूरा गर्नुपर्ने कुरामा जोड दिँदै तोशिहिरो मिबेले पत्रकारहरूलाई भने।

कमजोर उपभोक्ता खर्च र विभिन्न बजारमा कडा प्रतिस्पर्धाले धेरै वाहन निर्माताहरूका लागि जीवन कठिन बनाइरहेको छ।

चीनमा विदेशी ब्रान्डहरूका लागि व्यवसाय विशेष गरी कठिन भएको छ। त्यहाँ कम प्रदूषणकारी सवारी साधनहरूको माग बढ्दै जाँदा बिवाइडी जस्ता विद्युतीय सवारी निर्माताहरूले अगुवाइ गरिरहेका छन्।

मित्सुबिशी मोटर्ससँगै यी दुई कम्पनीले नयाँ होल्डिङ कम्पनीअन्तर्गत आफ्नो व्यवसायलाई एकीकृत गर्ने विषयमा छलफल सुरु गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको बताएका छन्।

‘दुवै कम्पनी र अटोमोटिभ उद्योग वरपरको वातावरणमा नाटकीय परिवर्तनहरू’ लाई उद्धृत गर्दै कम्पनीहरूले सन् २०२६ अगस्टमा टोकियो स्टक एक्सचेन्जमा होल्डिङ कम्पनीलाई सूचीबद्ध गर्ने योजना बनाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

ताइवानको इलेक्ट्रोनिक्स बेहेमोथ फक्सकनले बहुमत सेयर प्राप्त गर्न निसानसँग असफल सम्पर्क गरेको रिपोर्टपछि यो समाचार आएको हो ।

त्यसपछि यसले रेनल्टलाई निसानमा आफ्नो ३५ प्रतिशत हिस्सेदारी बेच्न आग्रह गरेको थियो । यसलाई अहिले रोकिने बताइएको छ ।

असमान विवाह

सरकारी विद्युतीय सवारी समर्थनको मद्दतले चीनले गत वर्ष जापानलाई सबैभन्दा ठूलो सवारी साधन निर्यातकका रूपमा उछिन्यो।

टोयोटापछि जापानको नम्बर दुई र तीन अटो निर्माताहरू होन्डा र निसान मार्चमा पहिले नै अन्य प्रविधिहरू बीच विद्युतीय सवारीहरूका लागि सफ्टवेयर र कम्पोनेन्टहरूमा रणनीतिक साझेदारी अन्वेषण गर्न सहमत भएका छन् । यो साझेदारी अगस्टमा मित्सुबिशी मोटर्सले गरेको थियो।

कम्पनीहरूले आगामी वर्ष जुनमा आफ्नो विलय सम्झौता टुङ्ग्याउन चाहन्छन्, तर यो बराबरीको विवाह हुने सम्भावना छैन।

होन्डाले नयाँ होल्डिङ कम्पनीको अध्यक्ष मनोनीत गर्नेछ। यसको बोर्ड प्रायः होन्डाका कार्यकारीहरू मिलेर बनेको हुनेछ।

निसान मित्सुबिशी मोटर्सको बहुमत शेयरधनी हो। विज्ञप्तिअनुसार यसले निसान र होन्डाबीचको व्यवसाय एकीकरणमा सहभागिता वा संलग्नताको निष्कर्षमा सन् २०२५ जनवरीको अन्त्यसम्म पुग्ने लक्ष्य राखेको छ।

होन्डा र निसानको साझेदारीमा एक अर्काको प्लान्टमा सवारी साधन निर्माण गर्ने विनिर्माण टाई–अप समावेश हुनसक्ने स्थानीय मिडियाले बताएका छन्। रासस/एएफपी

प्रकाशित: ९ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया